कमेडी च्याम्पियन सिजन ३ को चर्चा, निर्णायकको हातमा यस्तो पावर

काठमाडौं, १३ फागुन । फागुन ३ गते शुक्रबारबाट प्रसारणमा आएको चर्चित टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियन तेश्रो सिजनको गत बिहिबार ग्राण्ड प्रिमियर भएको छ । ग्राण्ड प्रिमियरको पहिलो एपिसोडले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाईरहेको छ । यो समाचार तयार पार्दासम्म यसको झण्डै पाँच लाखको हाराहारीमा भ्युज सहित युट्युव ट्रेण्डिङमा रहेको छ । यसअघि अडिसनका ३ एपिसोडले समेत राम्रै भ्यूज बटुलिरहेको छ ।

प्रिमियरको पहिलो भागमा ६ जना प्रतिस्पर्धीले आफ्नो प्रस्तुति दिएका छन् । जसमध्ये ५ जनाले सिधै टप १६ मा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । उनीहरुले निर्णायकको विशेष अधिकारको रुपमा रहेको सुपरपावर अन्तर्गत गोल्डेन बर्जर पाएका हुन् । गोल्डेन बर्जर पाउनेमा अमरेन्द्र यादव, इन्दु लम्साल, कर्मा सिंङ लामा, सुनिल खड्का र रिसव काफ्ले रहेका छन् ।

हजारौंबाट फिजिकल अडिसनमा छानिएका १३२ मध्ये उत्कृष्ट ३० ले ग्राण्ड प्रिमियरमा आफ्नो प्रस्तुति दिनेछन र यी ३० मध्ये १६ ले आगामी चरणमा स्थान बनाउने छन् । टप १६ पछि सिधै टप १० को लागि प्रतिस्पर्धा हुनेछ । यसपटक च्याम्पियनले आफ्नो ढाँचालाई थोरै परिवर्तन गरेको छ ।

यसअघि फिजिकल अडिसनबाट टप २४ छान्दै आएकोमा यसपटक सुपर ३० बनाएको छ भने अघिल्लो सिजनमा टप १५ भएकोमा यसपटक टप १६ बनाएको छ । यसपटक दर्शकहरुलाई थोरै नौलोपनको महसुस गराउन आफूले कार्यक्रमको ढाँचामा परिवर्तन गरेको निर्देशक बिशाल भण्डारीको भनाई रहेको छ । आफुलाई मनपरेको प्रतिस्पर्धीलाई सिधै गोल्डेन बर्जर दबाएर अघिल्लो चरणमा लैजान सक्ने विशेष अधिकार दिएको पनि निर्देशक भण्डारीले जानकारी दिएका छन् । यसपटक प्रतिस्पर्धीहरु निकै राम्रा प्रतिभाहरु आएको कारणले पनि आफूहरुले यसपटक सुपर ३० बनाउनु परेको निर्देशक भण्डारीले बताए ।

कमेडी च्याम्पियनको ग्राण्ड प्रिमियर पाँच भागमा प्रसारण हुनेछ । सिजन ३ हरेक बिहिबार र शुक्रबार बेलुका ९ बजे कान्तिपुर टिभीमा प्रसारण हुनेछ भने सोहि दिन ओएसआर रियालिटी युट्युब च्यानलमा ९ः१५ मा प्रसारण हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट