काठमाडौँ । रसुवाभोटेकोशी हुँदै त्रिशूली नदीमा भदौ १० मा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा पर्ने नदी तटीय क्षेत्रमा व्यापक जनधनको ठुलो क्षति भयो ।
यो प्राकृतिक प्रकोपले कयौँ भौतिक संरचनाहरू ध्वस्त मात्र भएन, प्रभावित क्षेत्रका बासिन्दाको मनमा कहिल्यै निको नहुने घाउ समेत दिएको छ । विपत्तिले दिएको त्यही पीडा, छटपटी ,आफ्नो गाउँठाउँ र आफन्त गुमाउँदाको रोदनलाई धेरै रचनाकारले आफ्ना सिर्जनामार्फत उतारेका छन् ।
त्रिशूलीको बाढीले बगाएका बस्ती, भत्किएका सपना र फेरिएको भूगोलको कथालाई समेटेर बाढीबाट एउटा सभ्यतानै सकिएको देवीघाटका गायक प्रचण्ड बाबु राइले ‘खै कहा छ मेरो गाउँ ‘ गीत ल्याएका छन् । गीतकार उमेश लम्सालको शब्द रचना र संगीतकार हरि लम्सालको संगीत रहेको गीतले प्राकृतिक विपत्तिका कारण सिर्जना भएको पीडा र बस्ती विस्थापनलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ । दीक्षित पौडेलले गीतको एरेन्ज गरेका हुन् ।
आफै घर गुमाएका बाढीपिडित गायक प्रचण्डबाबु र पवित्रा आचार्यले गीतको भिडियोमा मार्मिक अभिनय गरेका छन् ।बाढी प्रभावित क्षेत्रमा नै खिचेर भिडियो तयार गरिएको छ ।
शिबन पोखरेलको निर्देशनमा बनेको भिडियोमा सुदीप मैनालीको सिनेमाटोग्राफी ,निरन्जन के सीको सम्पादन रहेको भिडियोलाई टुभेलनोट नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
