काठमाडौं । आगामी असार ७ गतेबाट रिलिज हुने फिल्म ‘दान्भी’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बिहीबार एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ ।
ट्रेलरमा फिल्मकी प्रमुख नायिका पूजा शर्माको दमदार एक्सनलाई स्थान दिइएको छ । फिल्मका नवनायक कुन्साङ बोमजोमसँग पुजाको प्रेमलाई पनि ट्रेलरमा देख्न सकिन्छ । ट्रेलर हेर्दा कुन्साङको हत्या पछि उनको हत्याको बदला लिन पुजालाई एक्सन रुपमा प्रस्तुत गरिएको बुझ्न सकिन्छ । ट्रेलरमा पुजालाई ‘लेडी टाइगर’का रुपमा चित्रण गरिएको छ ।
पुजाले आफूले ट्रेलर हेरिरहँदा ती दृश्य कसरी गरें भन्ने आफूलाई लागेको बताइन् । हिरोइनले पनि एक्सन सिक्वेन्स गर्न सक्छन् भन्ने दान्भीमा देखाएको छु’, उनले भनिन् ।
नवनायक कुन्साङले दर्शकले ‘दान्भी’मा नयाँ एक्सन जनरा पाउने बताए । अर्का नायक किरण श्रेष्ठले एक्सन जनरा मनपर्ने दर्शकका लागि ‘दान्भी’ उपर्युक्त फिल्म भएको दाबी गरे । निर्देशक रुपेश तामाङले फिल्म राम्रो बनेकोमा आफू ढुक्क रहेको बताए ।
फिल्ममा पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता छन् । फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता छन् ।
फिल्ममा सन्जोग कुँवर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।
