रवि लामिछानेबाट खोसिएको विश्व रेकर्ड फर्काउने प्रयासमा जेन्जी गौरव, १०० घण्टा अन्तर्वार्ता गर्ने तयारी

काठमाडौं । पत्रकार गौरव पौडेलले लगातार एक सय घण्टा अन्तर्वार्ता लिएर विश्व रेकर्ड बनाउने घोषणा गरेका छन् । पुस १ देखि अन्तरवार्ता सुरू हुने उनले बताए ।

केही वर्षअघि रवि लामिछानेले ६२ घण्टाको अन्तर्वार्ता लिएर विश्वकिर्तिमान राखेका थिए । तर, उनको रेकर्ड पछि विदेशी नागरिकले तोडेका थिए।

स्लोभानियाका बोरिस टोमासिकले २४ सेप्टेम्बर २०२३ मा सुरुवात गरेर ७३ घण्टा २३ मिनेट २१ सेकेन्डसम्म निरन्तर टेलिभिजन टक–शो होस्ट गर्दै “longest marathon television talk show” को लामिछानेको नाममा रहेको विश्व रेकर्ड तोडेका हुन्।
अब सोही रेकर्ड फेरि नेपालमै फर्काउने ऐतिहासिक मिसन लिएर आफू हिँडेको गौरवले बताए ।

‘लगातार १०० घण्टा (चार दिन चार रात) नेपालका विभिन्न विशिष्ट व्यक्ति, कलाकार, जनप्रतिनिधि, खेलाडी, उद्यमीदेखि मनोवैज्ञानिक तथा सामाजिक अभियन्तासम्मसँग कुराकानी गर्नेछु’, उनले भने ।

उनका अनुसार अन्तर्वार्तामा जेन-जी पुस्ता, राष्ट्रियस्तरमा प्रभाव राख्ने व्यक्तित्वहरूको सहभागिता सुनिश्चित गरिने छ । नेपालमा पहिलोपटक यति लामो अवधिको, बिना रोकावट चल्ने, प्रोफेसनल टेलिभिजन सेटअपमा आधारित अन्तर्वार्ता म्याराथन हुन लागेको गौरवको भनाइ छ ।

सम्पूर्ण प्राविधिक सहयोग, प्रसारण तयारी, स्वास्थ्य सुरक्षा व्यवस्थादेखि मनोवैज्ञानिक काउन्सिलिङसम्मको व्यवस्था मिलाइएको आयोजक टीमले जनाएको छ।

‘विश्व रेकर्ड फर्काउने मात्र होइन, नेपाली पत्रकारिताको चुनौती, क्षमता र लगनलाई विश्व सामु पुनः प्रमाणित गर्ने लक्ष्य यो परियोजनाको मूल मनशाय हो’, पौडेलले भने ।

सम्बन्धित समाचार

ताजा पोष्ट