काठमाडौँ महानगरपालिकाले रात्रिकालीन जनजीवनलाई सहज बनाउन आउँदो वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सुरु गर्ने भएको छ। महानगरले साझा यातायातसँगको प्राविधिक सहकार्यमा सहरका मुख्य दुईवटा रुटमा विद्युतीय बस सञ्चालन गर्न लागेको हो।
महानगरका अनुसार विशेषगरी रातिको समयमा यात्रा गर्नुपर्ने यात्रु, अस्पताल जाने बिरामीका आफन्त र विमानस्थल आउजाउ गर्नेहरूलाई लक्षित गरी यो सेवा सुरु गरिएको हो।
कुन–कुन रुटमा चल्छन् बस?
रात्रिकालीन सेवाका लागि तत्काल दुईवटा रुट तय गरिएका छन्:
१. लगनखेल–बूढानीलकण्ठ रुट: यो रुटले सहरका प्रमुख अस्पतालहरूलाई जोड्नेछ। लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, वीर अस्पताल, शिक्षण अस्पताल (टिचिङ), कान्ति बाल अस्पताल र गङ्गालाल हृदय केन्द्र हुँदै बस बूढानीलकण्ठ पुग्नेछ।
२. थानकोट–विमानस्थल रुट: यो रुट थानकोटबाट सुरु भएर सतुंगल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तीनकुने हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्नेछ।
चारवटा विद्युतीय बसबाट सुरुवात
महानगरले प्रारम्भिक चरणमा यी दुई रुटमा चारवटा आधुनिक विद्युतीय बसहरू सञ्चालन गर्ने तयारी गरेको छ। रातिको समयमा ट्याक्सीको चर्को भाडा तिर्नुपर्ने बाध्यता र सवारी साधन नपाएर अलपत्र पर्ने सर्वसाधारणका लागि यो सेवा ठुलो राहत हुने अपेक्षा गरिएको छ।
नयाँ वर्षको उपहार स्वरूप सुरु हुन लागेको यो सेवाले काठमाडौँलाई ‘चौबिसै घण्टा जागा रहने सहर’ बनाउने अभियानमा समेत सघाउ पुर्याउने देखिन्छ। साथै, यात्रालाई सुरक्षित र मर्यादित बनाउन प्रत्येक बसमा सिसिटिभी क्यामरा जडान गरिनेछ। यात्रुहरूको सुरक्षा र सहयोगका लागि बसमा नगर प्रहरी समेत परिचालन गरिने महानगरले जनाएको छ ।
