उपेन्द्र सुब्बा निर्देशित चलचित्र ‘जारी’ले घरेलु बक्स अफिसमा १७ करोड रुपैयाँ भन्दा धेरै कमायो । कथ्य संरचना र शिल्पको निकै प्रशंसा भयो । बाँसुरी फिल्म्सका लागि ‘कबड्डी’ सिरिजपछि यो अर्को सुपरहिट चलचित्र थियो ।
हल रिलिजको डेढ वर्षपछि दर्शकले यसलाई निःशुल्क युट्युबमा हेरिरहेका छन् । युट्युबमा समेत यसले लोभलाग्दो भ्युज पाइरहेको छ । दुई साताअघि स्ट्रिमिङ सुरु भएको फिल्मलाई युट्युबमा बुधबारसम्म एक करोडभन्दा बढी पटक हेरिएको छ ।
पहिलो साता युट्युबको शीर्ष ट्रेन्डिङमा स्ट्रिमिङ भइरहेको फिल्म अहिले रियल टाइम खण्डतर्फ ट्रेन्डिङको दशौं स्थानमा छ । प्राप्त १२ हजारभन्दा बढी कमेन्ट पनि सकारात्मक छन् ।
पूर्वी नेपालको लिम्बू समुदायमा प्रचलित जारी प्रथालाई चित्रण गरिएको यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल लगायतको अभिनय रहेको छ ।
