काठमाडौं, १० फागुन । रोमान्टिक कमेडी फिल्म ‘रुमानी रंग’ निर्माण हुने भएको छ । निर्माता कम्पनी ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रा.लि.ले अभिनेता धीरज मगर र अभिनेत्री साम्राज्ञी शाहलाई मुख्य भूमिकामा लिएर फिल्म निर्माण गर्ने जनाएको छ ।
काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा जानकारी दिँदै निर्माण पक्षले यो फिल्मलाई ‘डायरी’ फेम्ड निर्देशक अनिल योञ्जनले निर्देशन गर्ने जनाएको छ । कथा, पटकथा र संवाद पनि उनकै हुनेछ ।
यसअघि एक्सन फिल्म ‘लाखे’ निर्माण गरेको ग्लोबल मिडियाको यो दोस्रो फिचर प्रोजेक्ट हो । आविष्कार बहुसञ्चार प्रालिको सहकार्यमा उसले यो फिल्म बनाउन लागेको हो ।
डीब्वाइज अष्ट्रेलियाली लाइन–प्रोड्युसर कम्पनीको रुपमा छ । यो कम्पनीले अष्ट्रेलियामा डमरुको डन्डीबियो, नेप्टे, क्याप्टेन, ए मेरो हजुरसहितका १० फिल्म वितरण गरेको पत्रकार सम्मेलनमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
फिल्मको प्रस्तुतकर्तामा यसअघि अष्ट्रेलिया वितरकको काम गरेका जीएम ठकुरी छन् । फिल्मको सहनिर्मातामा सुशील थापा, श्रीजन बस्नेत, सन्तोष सरु र विजय अधिकारी रहेको विज्ञप्तिमा उल्लेख छ । चलचित्रको छायाङ्कन आउँदो वर्ष वि.सं. २०८१ को वैशाख अन्तिमदेखि अष्ट्रेलियामा हुने छ ।
