काठमाडौं, ५ फागुन । शिवम मार्गी एकीकृत महिला समाजको आयोजनामा शनिबार कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ स्थित हरहरमहादेव शिवम मार्गमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको छ ।

आजको शिविरमा निःशुल्क आँखा जाँच, निःशुल्क औषधि वितरण, निःशुल्क चस्मा वितरण र मोतिबिन्दु भएका बिरामीहरुलाई निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको शिवम मार्गी एकीकृत महिला समाजकी अध्यक्ष गीता अर्यालले जानकारी दिनुभयोे ।

जसमध्ये २६८ जनाको आँखाको विशेष जाँच गरिएको थियो । जसमा १६ जनाको मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने र बाँकीलाई निःशुल्क औषधि एवम् चस्मा वितरण गरिएको थियो ।

सहयोगी संस्थाहरु नेपाल आँखा कार्यक्रम तिलगंगा, आँखा प्रतिष्ठान र ख्वप तिलगंगा आँखा अस्पताल भक्तपुर रहेका थिए ।

शिविरमा नगर प्रमुख उपेन्द्र कार्की र वडा नम्बर ७ का वडा अध्यक्ष भिमसेन थापाले समेत प्रत्यक्ष सहभागिता जनाई आयोजक टिम, सहयोगी संस्था र उपस्थित सबैलाई धन्यवाद दिएका थिए । साथै, टोलका अध्यक्ष विरोध कार्की, टोलका पूर्व अध्यक्ष टंक पौडेल र स्थानीय महिलाहरुले पनि कार्यक्रम सफल बनाउन साथ दिएका थिए ।

शिवम मार्गी एकीकृत महिला समाज यही माघ ३ गते गीता अर्यालको नेतृत्वमा स्थापना भएको थियो । यो एक गैरनाफामूलक र गैरराजनीतिक, गैरसरकारी संस्था हो ।








