दर्शकले एकदमै रुचाएको हाँस्य टिभी सिरियल सक्किगोनि टिमले फिल्म लाज शरणम् निर्माणको औपचारिक घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा फिल्मका कलाकार र निर्देशकबारे जानकारी दिइयो।
जेपीटी क्रियशनबाट बन्न लागेको फिल्मलाई कुमारले निर्देशन गर्ने छन्। उनकै लेखन रहेको फिल्ममा सक्किगोनि टिमबाट सागर लम्साल बले, अर्जुन घिमिरे पाँडे र कमलमणि नेपालको अभिनय रहने छ।
त्यस्तै माला लिम्बु, मुकुन्द श्रेष्ठ, विजय बराल र देशभक्त खनालको पनि शीर्ष भूमिकामा अभिनय रहनेछ। कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्य, निर्देशक दीपाश्री निरौला, प्रदीप भट्टराई लगायत पनि पुगेर फिल्मको टिमलाई शुभकामना दिएका थिए।

भदौं तेस्रो सातादेखि छायांकनमा जाने तयारीमा रहेको फिल्मको निर्मातामा नविन श्रेष्ठ र सह–निर्मातामा रामनरेश शाह छन्।महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि फिल्मलाई प्रदर्शनमा ल्याइने जनाइएको छ। कार्यक्रममा निर्देशक कुमार कट्टेलले जिम्मेवार भएर राम्रो फिल्म बनाउन मेहनत गर्ने बताए।
उनी र अर्जुन घिमिरे पाँडेको संयुक्त निर्देशन रहँदै आएको ‘सक्किगोनि’ दर्शकमाझ लोकप्रिय सिरियल हो। घोषणा कार्यक्रममा सक्किगोनिको टिम सहित विभिन्न चर्चित टेलिसिरीयलका निर्माता तथा कलाकारहरुको उल्लेख्य सहभागिता रहेको थियो
