काठमाडौं । लघु, घरेलु, साना तथा महिला उद्यमीद्धारा उत्पादित स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक बर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको १७औं श्रृंखला “नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव – २०८१” यही वैशाख २६ गतेदेखि ३० गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।
मुलुकभरका उद्यमीद्धारा उत्पादन गरिएका वस्तुलाई प्रदर्शनी गर्ने मुख्य उद्देश्य यस प्रदर्शनीको रहेको छ । यस महोत्सवको मुख्य नारा “खोजौं नेपाली, रोजौं नेपाली” र “नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं” भन्ने रहेको छ ।
प्रदर्शनीमा नेपालका सवै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा टर्कीको सहभागिता रहने छ र प्रदर्शनीमा २५० वटा स्टलको व्यवस्था हुने र २ लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने रु ७ करोड भन्दा बढीको आर्थिक कारोवार हुने प्रक्षेपण गरिएको छ ।
