काठमाडौं । बालेन साह, एक युवा नेता अनि जनताको मन जितेका एक साहसी मेयर । जब उनी मेयरमा एमालेका चर्चित नेता केशव स्थापितसँग चुनावी माहौलमा भिडे तब युवाको आगमन हुनुपर्छ भनेर चौतर्फी आवाज उठ्यो । बालेन स्वयम् कलाकारिता क्षेत्रमा स्थापित नाम थियो र उनलाई सम्पूर्ण कलाकार र सेलिब्रेटीहरुले खुलेरै समर्थन गरे । मिडियाले पनि राम्रै स्थान दियो ।
उनको बोल्ने शैली अनि स्वभावले युवाहरुको मन जित्न सफल भयो । उनले उठाएका मुद्दामा समर्थन गर्नेको भिड जम्मा भयो । बालेनको क्रेज एकातिर थियो भने उता केशव स्थापित आफ्नो प्रचार गर्नुभन्दा बालेनको विरोध गर्नुमा व्यस्त भए । स्थापितले बालेनलाई हल्कारूपमा लिए भने आफू घमण्डमा चुर भए ।
स्थापितले ‘भावना राउत’ नाम गरेकी युवतीको प्रश्नलाई सामना गर्न नसकेर होस गुमाए अनि भने, You are good lady, but थुतुनो ठीक भएन ।’ यसरी आफ्नै थुतुनो सम्हाल्न नसक्दा बालेनसँग लज्जास्पद हार बेहेर्नुपर्यो । बालेन मेयर बने । युबा जमातमा बालेन स्थापित नाम बन्यो । बालेनले चालेका हरकदममा जनताले साथ दिनथाले । बालेनको सफलताले आकाश चुम्यो ।
यता रवि लामिछाने Galaxy 4K TV मा कार्यक्रम चलाउनमा नै व्यस्त थिए । बालेन मेयरको प्रत्यासी हुँदा रविले खुलेरै साथ र समर्थन गरेका थिए । रवि लामिछानेले युवा नेता चाहिन्छ भन्ने उद्देश्यले ‘The Leader’ भन्ने शो को घोषणा गरेको थियो तर, त्यो शो कारणवश सञ्चालनमा आउन सकेन ।
सायद, रविले शोको मार्फत जन्माउन खोजेको नेता बालेनमा देखे । बालेनको सफलतामा उनी साँच्चै खुशी देखिन्थे । उता धरानमा हर्क साम्पाङ अनि धनगढीमा गोपाल हमालको चर्चा पनि कम थिएन । स्वतन्त्रले तहल्का मच्याएको थियो । यसै कारणले हो या पूर्व तयारी थियो, रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी नामको दल खोले ।
टेलिभिजन छोडेर राजनीतिमा प्रवेश गरेपछि उनले दुश्मन मज्जाले कमाए । युवराज पौडेल भन्ने एक व्यक्तिले लामिछानेलाई मुद्दामाथि मुद्दा हालेर दिनसम्म दुःख दिए । छोटो समयमा उपप्रधान एवं गृहमन्त्री जस्तो गरिमामय पदमा आसिन हुँदा धेरैको मन पोलेको देखिन्थ्यो । अन्ततः रविको सांसद पद समेत नरहने गरी उनलाई अनागरिक घोषणा गरेरै छाडे ।
रवि फेरी उपनिर्वाचन मार्फत अझ बढी मतले संसद छिरे र अहिले पुनः गृहमन्त्रीको पदमा आसिन छन् । पहिलो पटक गृहमन्त्री हुँदा नागरिकता तथा दोहोरो राहदानीको विवादमा अल्झिएका रविलाई यो पटक झनै गाह्रो अवस्था सिर्जना भएको छ । सहकारी प्रकरणले चौतर्फी विरोध खेपिरहेका रविलाई यो पटक कमैले बाधा गरेको देखिन्छ । कांग्रेसले अवरोध गरेको बैठकलाई सामान्यरूपमा लिएका छन् रविले ।
२ हप्तामानै धेरै काम र चर्चित निर्णयहरु गरेको रविलाई प्रशंसा गर्नेको लर्को देखिन्छ । वाहवाही यसरी बटुलेका छन् कि बालेनको डोजरले पनि स्थान पाउन छाड्यो । २४ सै घण्टा बालेनको पछि कुद्ने मिडिया पनि हिजो आज रवि कतिखेर संसद भवनबाट बाहिर निस्केला र अलिकति हिंडेको मात्र पनि खिच्न पाए हुन्थ्यो भनेर कुरेर बस्ने गरेको देखिन्छ ।
यता सरकारी गाडीको दुरुपयोग गरेको भनेर बालेनको आलोचना शुरू भएको छ । कार्यालय समयभन्दा पछि आफ्नो परिवारसँग Trisara पुगेका बालेनलाई गाली गर्नेको संख्यामा पनि कमी छैन । बालेन भने यी कुरामा कुनै प्रतिक्रिया नदिई बसेका छन् । राम्रो गरे आफूले अनि नराम्रो भए सरकार वा अरुलाई दोष दिने बालेन प्रवृतिले पनि उनको साख घटाएको छ ।
एक्सप्रेस बस सेवा सुचारु हुँदा सबैले बालेनको काम धेरै राम्रो भएको भनेर प्रशंसा गरे । बालेन पनि यसको जस लिएर बसे तर जब उक्त योजना असफल भयो, तब सरकारले राम्रो अध्ययन नगरी शुरू गर्दा सफल हुन नसकेको भनेर प्रचार भयो ।
तर बालेनले गर्न खोजेका धेरै काम तथा योजनाहरु सरकारले साथ नदिंदा तुहिएका छन् ।
बालेनलाई काम गर्न दिने हो भने काठमाडौं हेर्न लायक र बस्न लायक हुने कुरामा दुइमत छैन । न्यूरोडको पार्किङ व्यवस्थित गरेर चर्चा कमाएका छन् बालेनले ।
यता फेरी सिटी सेन्टरमा फिल्म हेरेर फर्किंदा पनि पार्किङको पैसा तिर्न बाध्य छन् जनता । “बालनले पार्किङ फ्रि गरेको होइन र ?” भनेर सोध्दा, उल्टै जनताले गाली खानु परेको अवस्था छ । कार्यकारी पदमा रहँदा पनि काम गर्न बालेनलाई गाह्रो नै बनाएको देखिन्छ ।
रवि लामिछाने गृहमन्त्रीको पदमा पुगेपछि भने काम गर्न शुरु गरेका छन् । सुन काण्डका ठूला माछा समाएर वाहवाही पाइरहेका छन् । यी र यस्तै कारणहरुले अहिलेको अवस्थामा रवि लामिछाने चर्चामा छन् । बालेनले फुटपाथ, सुकुम्बासी, कवाडीवालाहरुलाई चलाउँदा पनि अहिले चर्चा कमाउन सकेको देखिएन । त्यसैले भन्न सकिन्छ, रवि गृहमन्त्री भएपछि बालेनको क्रम घट्यो ।
