काठमाडौं । कपनगढी सिनेमा प्रालि. र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र ‘झिँगेदाउ–२’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । सोमबार चलचित्र ‘झिँगेदाउ–२’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको हो ।
चलचित्र आगामी असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । चलचित्रका निर्माता सुलभ प्रतिक देउजा र समिक्षा देउजा हुन् । चलचित्रको निर्देशन ज्ञानेन्द्र देउजाले गरेका छन् भने संगीतमा अर्जुन पोखरेल र ज्ञानेन्द्र देउजाको योगदान रहेको छ ।
चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अशु महर्जन, अभयराज बराल, उत्तम केसी, शिवहरि बैरागी नेपाल, आशा भुसाल, रेनु प्रधान तथा विनोदकुमार पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा अतिथि कलाकारका रूपमा देखिनेछन् ।
चलचित्रको पटकथा, संवाद तथा परिकल्पना सेन, गोविन्द फुयाल र शिशिर चालिसेले तयार गरेका हुन् । छायांकन विष्णु घिमिरे ‘कल्पित’ र बिबेक बस्नेतले गरेका छन् भने सम्पादन मित्र डी. गुरुङले गरेका छन् । निर्माण व्यवस्थापनको जिम्मेवारी ईश्वर घिमिरेले सम्हालेका छन् ।
सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख कलाकारलाई समेटिएको छ । पारिवारिक, सामाजिक तथा मनोरञ्जनात्मक कथावस्तुमा आधारित रहेको चलचित्रले दर्शकमाझ उत्साह जगाउने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ । ‘झिँगेदाउ’ को पहिलो श्रृंखलाले दर्शकबाट राम्रो प्रतिक्रिया पाएकाले दोस्रो श्रृंखलाप्रति पनि चलचित्रकर्मी र दर्शकको चासो बढेको देखिएको छ ।
