अध्यक्ष हर्क साम्पाङको एक्सन: राष्ट्रहितविरुद्ध बोल्न नपाइने भन्दै संकल्प प्रस्ताव दर्ता

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले राष्ट्रको सार्वभौमिकता तथा राष्ट्रिय हितसँग सम्बन्धित विषयमा जिम्मेवार अभिव्यक्ति दिनुपर्ने माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव पेस गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उक्त संकल्प प्रस्ताव प्रस्तुत गरेका हुन् ।

उनले जेठ १७ गते बसेको प्रतिनिधिसभाको आकस्मिक बैठकमा प्रधानमन्त्री बालेन्द्र साहले संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए ।

राईले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई राष्ट्रहितविरुद्धको भन्दै संसद्को अभिलेख (रेकर्ड) बाट हटाउनुपर्ने माग समेत गरे ।

उनले भने, ‘जेठ १७ गते प्रतिनिधि सभाको आकस्मिक बैठक बसिरहेका बेला प्रधानमन्त्री बालेल्द्र साहले सभामा उठेको प्रश्नको जवाफ दिने क्रममा नेपालले भारतको सीमा धेरै ठाउँमा मिचेको भन्ने राष्ट्रविरुद्ध अभिव्यक्तिलाई सभाको रेकर्डबाट हटाउँदैछ ।’

संकल्प प्रस्तावमार्फत उनले आगामी दिनमा नेपाल सरकारका प्रधानमन्त्री, मन्त्रीहरू तथा प्रतिनिधिसभाका सांसदलगायत राष्ट्रहितविपरीत अभिव्यक्ति दिन नपाउने व्यवस्था गर्न आग्रह गरे ।

उनले भने, ‘नेपाल सरकारको प्रधानमन्त्री मन्त्रीहरू, प्रतिनिधि सभाका सांसदहरू कोही कसैले यस्तो राष्ट्रघाती अभिव्यक्ति दिन नपाउने साथै राष्ट्रिय सार्वभौमता र राष्ट्रिय सवालमा सता पक्ष वा प्रतिपक्ष सबैले दलिए र वर्गीय स्वार्थ तह भन्दा माथि उठेर देशको पक्षमा एकता बद्ध सन्देश दिने संकल्प प्रस्ताव पेस गर्दछु ।’

सम्बन्धित समाचार

ताजा पोष्ट