काठमाडौं । नेकपा एमालेका सांसद ऐन महरले नयाँ संसद भवनको संरचना र व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले वर्तमान सरकारले अघिल्ला सरकारका अधिकांश कार्यक्रम, संरचना र अभ्यासहरू भत्काउने अभ्यास गरिरहेको टिप्पणी गरे । उनले त्यसबीच संसद भवनलाई भने सञ्चालनमा ल्याउने निर्णय गरिएको उल्लेख गर्दै नयाँ भवनबाट बजेट प्रस्तुत हुने विषय सकारात्मक भएको बताए ।
उनले भने, ‘अघिल्ला सरकारका अधिकांश कार्यक्रम र संरचना र अभ्यासहरुलाई वर्तमान प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले भत्काउने, तोड्ने अभ्यास गरिरहेको छ । तर बिडम्बना यो जुन संसद भवन छ यो संसद भवन चाँही चलाउने निर्णय गरेछ । यसलाई कायम गर्ने निर्णय गरेछ । जसमा यो नयाँ संसद भवनबाट नयाँ बजेट ल्याउने कुरा सुन्दा पनि असाध्यै खुसी लाग्यो ।’
तर ठूलो लगानी र लामो समय लगाएर निर्माण गरिएको संसद भवनलाई दीर्घकालीन महत्वअनुसार सही ढंगले सञ्चालन र व्यवस्थापन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
सांसद महरले प्रतिनिधिसभा हलको संरचनामाथि प्रश्न उठाउँदै सांसदहरू ‘फिल्म हेर्न आएको होइन’ भन्दै टिप्पणी गरे । उनले हलका सिटहरू फिल्म हलजस्ता र टेबलहरू कक्षाकोठाजस्ता बनाइएको आरोप लगाए ।
उनले भने, ‘धेरै ठूलो लगानीमा र धेरै समय लगाएर बनाएको यो भवन दिर्घकालीन महत्वको भवनलाई सही ढंगले सञ्चालन गर्ने, सही ढंगले व्यवस्थापन गर्नुपर्ने त्यो आवश्यकता छ । त्यो प्रतिनिधिसभाको हल हो । त्यहाँ सांसदहरू फिल्म हेर्न आएका होइनन् । त्यसका सिट फिल्म हलको जस्तो बनाइएको छ, टेबल कक्षाकोठाका जस्ता बनाइएका छन् । त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ ।’
उनले संसद भवनको संरचना सभाहलभन्दा बढी फिल्म हलजस्तो देखिएको टिप्पणी गर्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
