फ्रि भिसा भन्दै सयौँ युवामाथि ठगी

काठमाडौँ, जेठ १२ वैदेशिक रोजगारीका नाममा युवाहरूलाई आश्वासन दिएर ठग्ने र मानसिक तनाव दिने म्यानपावर कम्पनीहरूको धन्दा फेरि सतहमा आएको छ। काठमाडौँको रातोपुलस्थित ‘आकर्षण इन्टरनेसनल प्रा. लि.’ ले मलेसियाको ‘विस्ट्रोन टेक्नोलोजी’ कम्पनीका लागि ‘शून्य लागत’ (जिरो कस्ट) मा २०० जना (८० पुरुष र १२० महिला) उत्पादन अपरेटरको माग भन्दै विज्ञापन प्रकाशन गरेर युवाहरूमाथि ठुलो धोखाधडी गरेको खुलासा भएको छ।

कम्पनीले सामाजिक सञ्जाल (फेसबुक र टिकटक) मा “फ्रि भिसा, फ्रि टिकट” को प्रलोभन देखाएर जेठ १२ र १३ गते ‘प्रि-अन्तर्वार्ता’ र जेठ १७ गते ‘अन्तिम अन्तर्वार्ता’ हुने तालिका सार्वजनिक गरेको थियो। तर, अन्तर्वार्ता दिन देशका विभिन्न दुर्गम क्षेत्र र विशेषगरी तराईका जिल्लाहरूबाट हजारौँ रुपैयाँ खर्च गरेर काठमाडौँ आइपुगेका सोझा युवाहरू अहिले अलपत्र परेका छन्।

पहिले नै सेटिङ, युवाहरूलाई भने रित्तो हात

अन्तर्वार्ताका लागि लामो लाइनमा बसेका आक्रोशित युवाहरूका अनुसार, म्यानपावरले अन्तर्वार्ता नै नलिई “टोली पहिले नै छनोट भइसक्यो” भन्दै गैरजिम्मेवार जवाफ दिएर उनीहरूलाई लखेटेको छ।

“हामी तराईबाट ऋण काढेर, रातभरि गाडी चढेर काठमाडौँ आयौँ। यहाँ आउँदा अन्तर्वार्ता नै नगरी टोली छानिसकियो भन्छन्। यदि पहिले नै मान्छे सेट भइसकेका थिए भने हामीलाई फेसबुक र टिकटकमा विज्ञापन देखाएर किन बोलाइयो? हाम्रो समय, पैसा र सपनाको क्षतिपूर्ति कसले दिने?” – एक आक्रोशित पीडित युवा।

अनलाइन फारम र स्क्यानिङको नाममा भ्रम

म्यानपावरले ‘क्यूआर कोड’ स्क्यान गरी अनलाइन स्क्रिनिङ फारम भर्न लगाएर युवाहरूलाई डिजिटल माध्यमबाट समेत भ्रममा पारेको थियो। न्यूनतम योग्यता पुगेकाहरूलाई मात्र बोलाउने भनिए पनि, काठमाडौँ आइसकेका युवाहरूलाई ढोकाबाटै फर्काइएपछि यो प्रक्रिया विशुद्ध ‘नाटक’ मात्र भएको प्रमाणित हुन्छ।

सम्बन्धित समाचार

ताजा पोष्ट