ललितपुर । नेकपा एमालेका कार्यकर्ताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध प्रदर्शन गर्ने क्रममा एक जेष्ठ नागरिकमाथि भएको दुर्व्यवहारको घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सामाजिक सञ्जालमा भिडियो भाइरल भएलगत्तै गृहमन्त्री सुधन गुरुङको विशेष निर्देशनमा ललितपुर प्रहरीले राम शरण शर्मा बजगाईलाई नियन्त्रणमा लिएको हो। उनलाई हाल जिल्ला प्रहरी परिसर ललितपुरमा राखी थप अनुसन्धान अगाडि बढाइएको छ।
गृहमन्त्री पुगे पीडितको निवासमा
दोषीलाई कानुनी दायरामा ल्याएपछि गृहमन्त्री गुरुङ आफैं ललितपुरस्थित ती जेष्ठ नागरिकको निवास पुग्नुभएको थियो। आफ्नो कार्यव्यस्तताका बाबजुद साँझ निवास फर्कने क्रममा उहाँ पीडितलाई भेट्न पुग्नुभएको हो।
भेटका क्रममा गृहमन्त्रीले घटनाप्रति दुःख व्यक्त गर्दै भन्नुभयो:
“उक्त भिडियो हेरेपछि मलाई निकै पीडा भयो, म रातभर निदाउन समेत सकिनँ। त्यसैले दोषीलाई तत्काल कारबाही गर्न र तपाईलाई भेट्न म यहाँ आएको हुँ।”
पीडितद्वारा सरकारको प्रशंसा
आफूमाथि अन्याय भएको केही समयमै सरकारले देखाएको सक्रियताप्रति जेष्ठ नागरिकले खुसी व्यक्त गर्नुभयो। उहाँले गृहमन्त्रीलाई धन्यवाद दिँदै भन्नुभयो, “मैले न्याय पाउँछु भन्ने विश्वास थिएन, तर गृहमन्त्री स्वयंले चासो देखाएर दोषी समातिएको सुन्दा र मलाई भेट्न घरमै आउँदा राज्य भएको आभास भएको छ।”
