जाँचबुझ आयोगको सिफारिसपछि एक्सन: ५ दिन हिरासतमा रहने भए केपी ओली र रमेश लेखक

काठमाडौं । जेनजी (Gen-Z) आन्दोलनमा भएको दमनलाई लिएर पक्राउ परेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आइतबार दुवै नेतालाई थुनामा राखेर अनुसन्धान अघि बढाउन म्याद थपको अनुमति दिएको हो। सरकारी वकिलको कार्यालयले १० दिनको म्याद माग गरे पनि अदालतले ५ दिनको अनुमति दिएको अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा राज्यले दमन गरेको भन्दै गठित जाँचबुझ आयोगले ओली र लेखकलाई फौजदारी मुद्दामा कारबाही गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा शनिबार बिहान दुवै नेतालाई जरुरी पक्राउ पुर्जी जारी गरी नियन्त्रणमा लिइएको थियो।

आइतबार म्याद थपका लागि पूर्वगृहमन्त्री लेखक आफैँ अदालतमा उपस्थित भएका थिए भने स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पतालमा रहेका पूर्वप्रधानमन्त्री ओलीलाई भर्चुअल माध्यमबाट उपस्थित गराइएको थियो। तत्कालीन समयमा ओली प्रधानमन्त्री र लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए।

सम्बन्धित समाचार

ताजा पोष्ट