काठमाडौं– वरिष्ठ कलाकार तथा निर्देशक निर शाह करिब एक दशकपछि चलचित्र निर्देशनमा फर्किएका छन्। उनको निर्देशनमा बनिरहेको नयाँ चलचित्र ‘कमला मिस’ को छायांकन यतिबेला काठमाडौंमा धमाधम भइरहेको छ। गत फागुन १ गते शुभमुहूर्त गरेर यसको छायांकन सुरु गरिएको हो।

मनोवैज्ञानिक कथावस्तुमा आधारित यस चलचित्रको सफलताको कामना गर्दै ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा हालै नाट्यश्वरी पूजा सम्पन्न गरिएको छ। विजय मल्ल स्मृति प्रतिष्ठान, मल्ल परिवार र चलचित्र यूनिटले संयुक्त रूपमा आयोजना गरेको उक्त पूजामा छायांकन बाधारहित रूपमा सम्पन्न होस् भन्ने कामना गरिएको थियो।

कलाकार र प्राविधिक टोली
चलचित्रमा बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ र जयन्त रेग्मी मुख्य भूमिकामा रहेका छन् भने वरिष्ठ अभिनेता रमेश बुढाथोकीको पनि विशेष भूमिका रहनेछ।

विजय मल्ल स्मृति प्रतिष्ठानको प्रस्तुति रहेको यस चलचित्रका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन्। त्यस्तै, लाइन प्रोड्युसरमा पुष्कर लामा (प्रेम भोम्जन) रहेका छन्। चलचित्रको प्राविधिक पक्षमा शिवराम श्रेष्ठ (छायांकन), युग भुसाल (संगीत), रामजी लामिछाने (कोरियोग्राफी) र सगर बोहरा (मुख्य सहायक निर्देशन) रहेका छन्। कथा, पटकथा र संवाद निर शाह, प्रज्वल दुलाल र सुगम दुलालले तयार पारेका हुन्।

स्मरण रहोस्, निर शाहले यसअघि ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता ऐतिहासिक र सफल चलचित्रहरूको निर्देशन गरिसकेका छन्।
