काठमाडौँ। गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ गीत उधौली र उभौली साकेला सार्वजनिक गरिएको छ। चन्द्र जयपाल राईको शब्द र राई नबिनकै संगीत रहेको गीतले किरात समुदायको मौलिक संस्कृति र परम्परालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।
किरात समुदायका प्रमुख चाड ‘उधौली’ र ‘उभौली’लाई विषय बनाइएको यस गीतमा प्रकृति, भूमी र पुर्खाप्रतिको आस्था भावनात्मक रूपमा चित्रण गरिएको छ। खेतीपाती सुरु हुनु अघि देवता र प्रकृतिसँग समृद्धिको कामना गर्ने परम्परा, साकेला नृत्य, मौलिक भेषभूषा तथा परम्परागत बाजागाजाको महत्वलाई गीतले जीवन्त रूपमा उजागर गरेको छ।
गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन्। ‘स्टुडियो किङ’मा रेकर्ड गरिएको गीतको रेकर्डिङ सुरेश पायल राईले गर्नुभएको हो भने यसको निर्माता बिना राई रहनुभएको छ।
गीतसँगै सार्वजनिक गरिएको म्युजिक भिडियोले पनि उधौली–उभौलीको सांस्कृतिक भाव, सामूहिक नृत्य र समुदायको जीवनशैलीलाई सशक्त रूपमा उतारेको छ। भिडियो निर्देशन धन खालिङले गर्नुभएको हो भने जस्केलो क्रिएसनले निर्माण गरेको हो।
मौलिक विषयवस्तु, सशक्त शब्द र सुमधुर संगीतको संयोजनले गीतलाई विशेष बनाएको संगीतकर्मीहरूको भनाइ छ। सार्वजनिक भएसँगै गीतले दर्शक–श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।
