काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै प्रधानमन्त्रीसमक्ष राजीनामा पत्र बुझाएका हुन्।
मिति २०८२ भदौ ३० गते मन्त्रीका रूपमा नियुक्त भएका घिसिङले पुष २३ गतेदेखि लागू हुने गरी मन्त्री पदबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन्।
प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखिएको पत्रमा उनले नयाँ राजनीतिक सहमतिबाट गठन भएको सरकारमा काम गर्ने अवसर प्रदान गरेकोमा आभार व्यक्त गरेका छन्। आफ्नो कार्यकालमा मन्त्रालय तथा मातहतका निकायमा सुशासन कायम गर्ने, काम नगरी वर्षौदेखि अलपत्र परेका विकास परियोजनालाई गति दिने तथा ऊर्जा, जलस्रोत, सिँचाइ र भौतिक पूर्वाधार क्षेत्रको सुधारमा योगदान पुर्याउने प्रयास गरिएको उल्लेख गरेका छन्।
मन्त्री घिसिङले पारदर्शी, इमानदार र जिम्मेवार ढंगले काम गर्दै जनताको जीवनस्तर उकास्ने लक्ष्यसहित कार्य गरेको बताएका छन्।
यस अवधिमा आफूले पाएको सहयोग, विश्वास र सहकार्यका लागि प्रधानमन्त्री, मन्त्रिपरिषद् सदस्यहरू, कर्मचारी, सरोकारवाला निकाय तथा सम्पूर्ण नागरिकप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। साथै, आगामी दिनमा पनि देश र जनताको हितमा आवश्यक जिम्मेवारी निर्वाह गर्न सदैव तयार रहने प्रतिबद्धता जनाएका छन्।
मन्त्री घिसिङको राजीनामासँगै राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ भने यसका थप असरबारे आगामी दिनमा स्पष्ट हुने देखिन्छ।

