गीति चलचित्र ‘भाग्य’ले पायो जुरी अवार्ड, ‘सतिदेवी’ लाई उत्कृष्ट चलचित्र अवार्ड

काठमाडौं |  चितवनको सौराहामा माघ १८ गतेदेखि भएको पाँच दिने सौराहा दक्षिण एशियाली चलचित्र महोत्सव सोमवार सम्पन्न भएको छ । रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा आयोजित उक्त महोत्सवमा नजिकैको सिनेमा हलमा फिल्म प्रदर्शन गरिएको थियो । नेपाली फिल्मको विकास तथा सौराहासहित चितवनको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको आयोजक संस्थाको भनाइ छ ।
वृत्तचित्र निर्माता लव प्याकुरेलको संयोजकत्वमा चार सदस्यीय निर्णायक मण्डल रहेको उक्त महोत्सवमा लक्ष्मण सुवेदीद्वारा निर्देशित ‘सतिदेवी’ ले उत्कृष्ट फिल्मको अवार्ड जित्न सफल भएको छ ।‘सतिदेवी’ ले सर्वोत्कृष्ट फिल्मको उपाधिसँगै ५० हजार रूपैयाँ नगद पुरस्कार जितेको छ । यही फिल्मबाट निर्देशक सुवेदीले वरिष्ठ निर्देशक स्व। शिव रेग्मीको नाममा समर्पित शिव रेग्मी सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड पनि जित्न सफल भए । समारोहमा निर्देशक सुवेदीलाई स्व। निर्देशक शिव रेग्मीकी धर्मपत्नी ज्ञानु रेग्मी र छोरा डा।अभिषेक रेग्मीले उक्त अवार्ड प्रदान गरेका थिए ।

महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्र अवार्ड डा।सचिन घिमिरे र गौरव केसीद्वारा निर्देशित ‘म अलप हुन चाहन्छु’ ले प्राप्त गरेको छ । यो वृत्तचित्रले उपाधिसँगै नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । सर्वोत्कृष्ट लघु चलचित्रको अवार्ड प्रदीप पोखरेलले निर्देशन गरेको ‘स्नो लियोपार्ड’ ले प्राप्त गरेको छ । यसले पनि नगद २५ हजार पुरस्कार प्राप्त गरेको छ । सर्वोत्कृष्ट सम्पादक ‘नाङ्गो गाउँ’ बाट बनिशा शाहले जिते । सर्वोत्कृष्ट सिनेमाटोग्राफरको उपाधि ‘बिच्छेद’ बाट संकल भुजेलले प्राप्त गरेका छन् भने यही फिल्मबाट सर्वोत्कृष्ट चलचित्र लेखनको उपाधि सत्यराज चौलागाईँ र मुकुन भुसालले प्राप्त गरेका छन ।
महोत्सवमा सरिता महर्जनद्वारा निर्मित तथा सुरेन्द्र महर्जन ‘अमर’ द्वारा लिखित तथा रोशन कुमार श्रेष्ठद्वारा निर्देशित ‘भाग्य’ चलचित्रले जुरी अवार्ड प्राप्त गर्न सफल भएको छ ।
महोसत्सवमा दक्षिण एसिायली देशका ४० भन्दा बढी चलचित्रले सहभागिता जनाएकोमा २० वटा चलचित्र प्रदर्शन गरिएको क्याराभान नेपालका अध्यक्ष विमल पौडेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट