काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । मुख्य कलाकार अटाउँदै निर्माण टिमले आज चलचित्रको पोस्टर सार्वजनिक गरेको हो ।
पोस्टरको केन्द्रमा सिनेमाका नायक दील श्रेष्ठ छन् । उनी हल्दी डे मनाइरहेका छन् । उनको हल्दी डेमा छन्, मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ छन् ।
विवाहपूर्व मनाइने यो हल्दी डेमा उस्थिति सबै प्रफुल्ल मुद्रामा छन् । हल्दी डेका लागि सजाइएको झकिझकाउ स्पेस र उपस्थितहरूको पहिरनले खानदानी परिवारको छोराको बिहे भइरहेको प्रस्ट पारेको छ । नम्राताको हातमा बधाइका लागि हुनेवाला दुलाहालाई दिन ल्याएको बुके छ ।
मदनकृष्ण भने ह्विलचेयरमा छन् । यसले उनी शारीरिक रूपमा अशक्त रहेको देखाउँछ । पूर्ण पारिवारिक यो पोस्टरले सिनेमा फेमेली ड्रामा रहेको बताएको छ । पोस्टरले सपरिवार सिनेमा हेर्न हलमा आउन दर्शकलाई अपिल पनि गरेको छ ।
अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भएको यो चलचित्र भदौ २६ गते रिलिज हुँदैछ । हाल यो सिनेमा पोस्ट प्रोडक्सनको चरणमा छ ।
चलचित्र ‘माया भनेकै यस्तो होला’मार्फत अभिनेत्री रेखा ८ वर्षपछि निर्देशनमा फर्किएकी हुन् । ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता सिनेमा निर्देशन गरिसकेकी उनको यो तेस्रो निर्देशकीय फिचर फिल्म हो।
निर्देशनमा केन्द्रित रेखाले यसपटक आफ्नै ब्यानर ‘रेखा फिल्मस्’भन्दा बाहिर आएर चलचित्र निर्देशन गरेकी हुन् । ‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ ।
विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीको पनि अभिनय छ । लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायतको अभिनय छ ।
‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्रमा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन् ।
यस चलचित्रले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्नेछ । ध्रुव लम्सालको पटकथा लेखन रहेको छ ।
सुदीप बरालको छायांकन रहेको चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन चुडामणी (सीएम) छन् ।
यो चलचित्रलाई देशभरका प्रमुख वितरक कम्पनीहरू रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन् ।
