सुनिता सुवेदी
काठमाडौं । पछिल्लो समय नेपालमा स्वदेशी तथा विदेशी उद्योगको दर्ताको सङ्ख्या सरकारले लिएको लक्ष्य भन्दा कम देखिएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक अवधि (साउनदेखि पुस)सम्ममा स्वदेशी तथा विदेशी गरी २ सय ११ वटा उद्योग दर्ता भएका छन्, जसमा ठुला, मझौला तथा साना उद्योग छन् । उद्योग दर्ता भएका यो सङ्ख्या सरकारले लिएको अर्धवार्षिक लक्ष्यको ५७ दशमलव ८० प्रतिशत मात्रै हो । सरकारले पुससम्ममा साना, मझौला तथा ठुला गरी ३ सय ६५ उद्योग दर्ता गर्ने लक्ष्य राखेको थियो । त्यस्तै पुस महिनामा मात्रै ३२ वटा उद्योग दर्ता भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
६ महिनामा दर्ता भएका उद्योगमध्ये २८ वटा ठूला उद्योग दर्ता भएको विभागले जनाएको छ । विभागले यो वर्षको पुससम्ममा ८० वटा ठूला उद्योग दर्ता गर्ने लक्ष्य राखेको थियो ।
मझौला उद्योग दर्तामा भने लिइएको अर्धवार्षिक लक्ष्यभन्दा धेरै कम रहेको छ । पुससम्ममा मझौला उद्योग ८५ वटा दर्ता गर्ने लक्ष्य राखेको विभागले १६ वटा उद्योग मात्र दर्ता गर्न सकेको छ । साथै ६ महिनामा १ सय ६७ वटा साना उद्योग दर्ता भएका छन् । विभागले २ सय वटा उद्योग दर्ता गर्ने लक्ष्य राखेको थियो ।
दर्ता भएका उद्योगले १३ हजार ६ सय ७० लाई रोजगारी दिने प्रस्तावित गरेका छन् । विभागको तथ्याङ्अनुसार पुससम्ममा २ सय २६ वटा उद्योगमा विदेशी लगानीकर्ताले २२ अर्ब ३३ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । यी उद्योगबाट १२ हजार १ सय ६७ जनाले रोजगारी पाउने विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
यस्तै ६ महिनामा १ वटा प्याटेन्ट, ७ वटा डिजाइन र २५ सय ३८ वटा ट्रेडमार्क दर्ता भएका छन् । सोही अवधिमा प्रारम्भिक वातावरणीय परीक्षण १५ वटा भएको छ भने ट्रेडमार्क सम्बन्धी मुद्दामा १९ वटालाई कारवाही गरिएको विभागले जनाएको छ । विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक अवधिमा कुल १ खर्ब ३६ अर्ब रुपैयाँ बराबरको स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता (प्रस्ताव) आएको छ ।
