सुनिता सुवेदी
काठमाडौं, माघ १२ । पछिल्लो समय जीवन बीमाको व्यवसाय बढ्न थालेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पुस महिनासम्ममा जीवन बीमाको व्यवसाय ७४ अर्ब २२ करोड ६ लाख रुपैयाँ बराबरको भएको छ, जुन गत आवको पुसको तुलनामा ३ दशमलव ५८ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँको व्यवसाय भएको थियो ।
व्यवसायमा उठेको बीमा शुल्कमध्ये प्रथम बीमा शुल्कबाट १३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ संकलन भएको छ । त्यस्तै नवीकरण बीमा शुल्कमार्फत ६० अर्ब ४० करोड २८ लाख रुपैयाँ संकलन भएको छ । अर्ध वार्षिक अवधिसम्ममा सक्रिय रहेको बीमालेखको सङ्ख्या कुल १ करोड ३७ लाख ४१ हजार ३ सय ५५ रहेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
प्राधिकरणका अनुसार जीवन बीमा व्यवसाय गर्ने १४ बीमकहरु रहेका छन् । यी बीमकमध्ये सबै भन्दा धेरै व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटड रहेको छ । कम्पनीले ६ महिनामा २० अर्व २ करोड ३१ लाख रुपैयाँको व्यवसाय गरेको छ । कम्पनीले प्रथम बीमा शुल्कबाट ३ अर्ब १५ करोड १३ लाख बीमा शुल्क संकलन गरेको छ । त्यस्तै नवीकरण बीमा शुल्कबाट १६ अर्व ८७ करोड १८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । पुस सम्ममा कम्पनीको १२ लाख ३५ हजार ६ सय १६ सक्रिय बीमालेख रहेका छन् ।
व्यवसाय गर्ने प्रमुख दोस्रोमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले अर्धवार्षिक अवधिसम्ममा ८ अर्ब ६२ करोड ६३ लाख रुपैयाँको जीवन बीमाको व्यवसाय गरेको छ । कम्पनीले प्रथम शुल्कबाट १ अर्ब ४७ करोड ७३ लाख र नवीकरण बीमा शुल्कबाट ७ अर्व ५७ करोड ८९ लाख बीमा शुल्क संकलन गरेको छ । पुससम्ममा कम्पनीमा ६ लाख ९३ हजार ३ सय ७७ सक्रिय बीमालेख रहेका छन् ।
यस्तै जीवन बीमा व्यवसाय गर्ने बीमकहरुमध्ये तेस्रोमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६ महिनामा ८ अर्व ५६ करोड ७९ लाख रुपैयाँको व्यवसाय गरेको छ । कम्पनीले १ अर्ब ९९ करोड ११ लाख प्रथम शुल्कबाट र ६ अर्व ५७ करोड ६७ लाख रुपैयाँ नवीकरण बीमा शुल्कबाट संकलन गरेको छ । पुससम्ममा कम्पनीको १५ लाख ९२ हजार ७ सय ७६ सक्रिय बीमालेख छन् ।
