इन्काउन्टरमा भारतीय लागूऔषध कारोबारी सिरहामा पक्राउ

सिरहा । सिरहा प्रहरीले विशेष अपरेशन सञ्चालन गर्दै एक कुख्यात भारतीय लागू औषध कारोबारीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । आइतबार साँझ सिरहा नगरपालिका–२१ लगडीगोठ क्षेत्रमा भएको कारबाहीमा भारतको मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ निवासी २८ वर्षीय छोटु भनिने रञ्जित कुमार पासवान पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय महेशपुर पतार, जिल्ला प्रहरी कार्यालय सिरहा तथा लागू औषध नियन्त्रण ब्युरो गोल बजार शाखाको संयुक्त टोली विशेष सूचनाका आधारमा उनलाई पक्राउ गर्न पुगेको थियो। पक्राउ गर्ने क्रममा पासवानसहितको समूहले प्रहरीमाथि ढुंगामुढा गर्दै भारततर्फ भाग्ने प्रयास गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर तथा एक राउन्ड गोली प्रहार गरेको थियो ।

प्रहरीको गोली पासवानको खुट्टाको पिँडुलामा लागेको छ।घटनामा महेशपुर पतारमा कार्यरत प्रहरी जवान हृदयनारायण ठाकुर पनि ढुंगामुढाबाट घाइते भएका छन् । दुवै जनाको सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट भारतकै एक नाबालकलाई समेत नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट ९२ ग्राम ३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ परेका पासवान सिरहा तथा आसपासका क्षेत्रमा सक्रिय कुख्यात लागू औषध कारोबारी हुन् । प्रारम्भिक अनुसन्धानमा उनले हालसम्म करिब ३ करोड रुपैयाँ बराबरको १० देखि १२ किलो ब्राउन सुगर बिक्री गरेको खुल्न आएको छ । साथै, लागू औषध कारोबारमा नाबालकलाई प्रयोग गर्ने गरेको समेत अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा पोष्ट