क्यान इन्फोटेक २०२४ सम्पन्न

काठमाडौं, १ फागुन । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गरेको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी क्यान इन्फोटेक २०२४ सम्पन्न भएको छ ।

भृकुटीमण्डपमा माघ २५ देखि २९ गतेसम्म भएको यो प्रदर्शनी क्यान इन्फोटेकको २९औं संस्करण हो ।

पाँच दिनसम्म चलेको प्रदर्शनीमा हरेक दिन नेपाल सरकार तथा मातहतका निकायका तर्फबाट विशिष्ट अधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेशसभा, राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरु, विभिन्न राजनीतिक दल सम्बद्ध नेता, योजना आयोगका अधिकारीहरु, नीति निर्माता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका व्यवसायी, कलाकार, समाजसेवी, विद्यार्थी तथा सूचना प्रविधि प्रेमीले अवलोकन गरेका थिए ।

इन्फोटेकमा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्डसँगै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, फिन्टेक प्रविधि, ईकमर्स, आईटी तालिम प्रदायक, विभिन्न क्षेत्रका लागि विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुल, राइड शेयरिङ एप लगायतसँग सम्बन्धित स्टलहरुमा अवलोकनकर्ताको विशेष चासो देखिएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताउनुभयो ।

यस पटकको इन्फोटेकमा नेपाली युवाका नवीनतम सोच, उत्पादन तथा समाधानलाई प्राथमिकता देखिएको बताउँदै महासचिव अधिकारीले डिजिटल साक्षरता, ब्लकचेन प्रविधि, एआई, साइबर सुरक्षा लगायतका पक्षमा नेपालको सूचना प्रविधि क्षेत्रलाई तयार पार्न सहयोग पुगेको भनाइ राख्नुभयो ।

प्रदर्शनीमा नेपाली स्टार्टअप र इनोभेसनबारे बुझ्न चाहने अवलोकनकर्ताको संख्या उल्लेख्य रहेको थियो । आयोजकले यस्ता सोच तथा आविष्कारलाई प्रश्रय दिन निःशुल्क स्टलको व्यवस्था गरेको थियो ।

यसैबीच राजधानीमा राष्ट्रियस्तरको क्यान इन्फोटेक सफलताका साथ सम्पन्न भएपछि सन् २०२४ भित्र सातै प्रदेशमा क्यान इन्फोटेक गर्ने योजना ल्याइएको छ । यसका लागि तयारी तीव्र पारिसकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट