-बासुदेव न्यौपाने
पुरानै चरित्रको उदाहरण :
मुलुकमा व्याप्त भ्रष्टाचार अनियमितता समस्या तथा विकराल स्थितिले गर्दा मानिस दिन प्रतिदिन मुलुक छोडेर बाहिर जाने संख्या बाक्लो छ । राजनैतिक अस्थिरता तथा समयानुकूल नीतिहरूको परिवर्तन नगर्नाले गर्दा देश झन् झन् जर्जर अवस्थामा फसेको छ, युवाहरुमा आक्रोस पीडा एकातिर बढ्दो आयात, बढ्दो परनिर्भरता, बढ्दो सरकारी खर्च राजस्वले साधारण खर्च धान्न नसक्ने स्थिति जनतामा निराशा, व्यवसायिक घरानाहरु टाट पल्टिरहेको समाचार नेपालमा केही हुँदैन भन्ने भाष्य काठमाडौंमा सटर खालीका साइनबोर्ड, शेयरबजारमा निराशा, घरजग्गा (रियलस्टेटमा मन्दी), निर्माण व्यवसायीहरुको आन्दोलन, सहकारी पीडितको समस्या, मिटरव्याजीको समस्या, उखु किसानका भुक्तानीमा समस्या, शिक्षकहरूको आन्दोलन, हरेक कुरामा चरम समस्या देखिएको छ तर सरकार तथा सरकारका संयन्त्र मौन, सरकार कसरी हुन्छ लम्याउने भन्ने खेलले गर्दा मुलुकका केही हुन्छ भन्ने आशातित युबाहरु पनि समस्यामा परेको देखिन्छ अनि समयसमयमा नयाँ–नयाँ राजनैतिक तरंगहरुले पनि जनताका मानसपटलमा तनाब मात्र देखिन्छन् ।

केही राम्रा र आशाका किरण :
तर हरेक कुरामा केही हुन्न भन्नेहरु बीचमा पनि आशाका किरणहरू देख्न सकिन्छ, जस्तै स्थानीय तहका धेरै राम्रा कामका समाचार, आइटी क्षेत्रमा राम्रो भविष्य तथा वैदेशिक मुद्रा आर्जन गर्ने माध्यम, कृषिमा केही आधुनिकीकरण, पर्यटनमा राम्रो सुधार, मुलुकभर तारे होटलहरुको निर्माण तथा सुविधा, मध्यपहाडी लोकमार्गको निर्माणबाट पहाडी जिल्लाहरूलाई सुगममा परिणत गर्दै गरेको अवस्था वा पहाडी जिल्लाहरूलाई सुगममा परिणत गर्नुका साथै त्यहाँका स्थानीय उत्पादनले बजार पाउने अवस्थाको सुरुवात, तराई मधेस फास्ट ट्रयाकले काठमाडौंबाट तराईलाई जम्माजम्मी एक घण्टाको यातायात दूरीमा जोड्ने अवस्था, मेलम्ची खानेपानीको काठमाडौंमा सुविधा, झण्डै तीनहजार मेघावाटको विद्युत उत्पादन भइरहेको अवस्था तथा नेपालबाट भारत निर्यात त एक पाटो तर नेपालबाट भारत हुँदै बंगलादेशमा विद्युत निर्यातको समझौताले देखाएको आशाका किरण मुलुक पूर्णरुपमा विद्य्तीय गाडी तथा विद्युतीय चुलोको व्यवस्थापन उन्मुख भइरहेको गतिलो उदाहरणहरू, तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरीकरण, सूचना प्रविधिको बढ्दो प्रयोग, अनलाइन सेवामा वृद्धि, बाटोहरुको सुधार, सुरुङमार्गको निर्माण, ठूला ठूला नहर तथा सिंचाइ आयोजनाहरुको निर्माणबाट तराईका हजारौं बिघा जग्गामा पानीको व्यवस्थापन हुने नेपालबाट भारत हुँदै तेश्रो मुलुकमा निर्यातको बाटो छँदाछँदै चीनबाट पनि तेस्रो मुलुकमा सामान निर्यातको बाटो खुलेको गतिलो सन्देश, अन्तर्राष्ट्रिय मञ्चमा ख्यातीप्राप्त विश्वका धनाढ्यहरुको नेपालका लगानी गर्ने चाहना, लगानी बोर्ड नेपालले खरबौं लगानीका लागि वैदेशिक संस्था तथा व्यक्तिसँग गरेको सम्झौता अवस्था, बुढीगण्डकी आयोजना जस्तो मुलुककै गर्विलो र ठूलो आयोजना निर्माणको शुरुवाती चरणहरु राम्रा उदाहरणहरु हुन तर यी सबै कुराहरूको कतिपय निर्माण सम्पन्न छन्, कति तयारीको अन्तिम चरणमा छन्, कतिपय सुरुवाती अवस्थामा छन् तर सबैको मियो तथा व्यवस्थापनमा सरकार तथा उच्च राजनैतिक नेतृत्वको हात हुने हुनाले उनीहरूले चुस्तताका साथ काम गर्नुपर्ने देखिन्छ ।

आफ्ना–आफ्ना राजनैतिक आदर्श एकातिर तर राष्ट्रिय आवश्यकता तथा मुलुकी नीति, कुटनैतिक वैदेशिक नीति चाहिँ साझा र स्थिर हुनुपर्ने देखिन्छ । मुलुक सुहाउँदो, जनता सुहाउँदो र भूगोल सुहाउँदो नीति आजको आवश्यकता हो ।
