राष्ट्रिय सभाको १९ सिटका लागि भएको चुनावमा सत्ता गठबन्धनका १८ जना उम्मेदवार विजयी, कोशीमा एमालेकी कोइराला निर्वाचित

काठमाडौं, ११ माघ । राष्ट्रिय सभाका १९ जना सदस्य चयनका लागि बिहीबार सातै प्रदेशमा भएको चुनावको मतपरिणाम सार्वजनिक भएको छ । चुनावमा कोशीमा एक जनाबाहेक सबैतिर १८ जना सत्ता गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । कोशी प्रदेशमा सत्ता गठबन्धनबाट माओवादीकी चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला विजयी हुनुभयो । तर कोशीमै गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका कृष्ण सिटौलाले भने राप्रपाका उम्मेद्वार उद्धव पौडेललाई हराउनुभयो । गठबन्धनकै उम्मेदवारले भोट नदिँदा माओवादीकी चम्पा कार्कीलाई एमालेकी उम्मेदवार कोइरालाले पराजित गर्नुभयो ।

कोशीमा सत्ता गठबन्धनकै मतदाताले एमाले र राप्रपालाई मत दिएको परिणामले पुष्टि गरेको छ । त्यस्तै मधेस प्रदेशको दुई सिटमा गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित हुनुभएको छ । बागतीमा सत्ता गठबन्धनकै चार जना उम्मेदवार विजयी भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी, अन्यतर्फ कांग्रेसकै जितजङ्ग बस्नेत, अपाङ्गतातर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी हुनुभएको छ ।

यस्तै गण्डकी प्रदेशमा पनि गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । अन्य क्लस्टरमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, महिला क्लस्टरमा नेकपा माओवादीबाट मनरुपा शर्मा र अपाङ्गता क्लस्टरमा नेपाली कांग्रेसका पदम परियार निर्वाचित हुनुभएको हो । लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादीका झक्कुप्रसाद सुवेदी विजयी हुनुभयो । त्यसैगरी कर्णालीमा पनि गठबन्धनका तीनै जना उम्मेदवार विजयी भए । कर्णालीमा अन्यतर्फ कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल र दलिततर्फ माओवादी केन्द्रका विष्णुबहादुर विक निर्वाचित भएका छन् ।

सुदूरपश्चिममा पनि गठबन्धनकै तीन जना उम्मेदवार विजयी भए । महिलातर्फ माओवादीकी रेनु चन्द, अपाङ्गतातर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी हुनुभएको हो । आउँदो फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने भएपछि बिहीबार चुनाव भएको हो । निर्वाचित सदस्यहरूको कार्यकाल ६ वर्षको रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट