काठमाडौं, २१ फागुन । प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई छाडेर नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी सहित गठबन्धन गर्ने निर्णय लिएलगत्तै प्रधानमन्त्रीलाई भेट्न कांग्रेसका शीर्ष नेताहरु बालुवाटार पुगेका थिए । गठबन्धनको बैठकका लागि कांग्रेस सभापति शेरबहादुर देउवा सोमबार बिहानै पदाधिकारीसहित बालुवाटार जाने तयारीमा थिए । तर बालुवाटारबाट बैठक स्थगित भएको सूचना प्राप्त भएपछि उनीहरू रोकिएका थिए ।
त्यसलगत्तै कांग्रेस सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का मात्र प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । उक्त भेटमा प्रचण्डले कांग्रेस माओवादीको गठबन्धनलाई निरन्तरता दिन नसक्ने निचोडमा आफू पुगेको सुनाए ।
अब कांग्रेससँग मिलेर सरकार चलाउन नसक्ने उनले जानकारी गराएका थिए । विगत केहि दिनदेखि कांग्रेससँग प्रधानमन्त्री अलि रुष्ट थिए । कोशी प्रदेशमा एमालेसँग मिलेर कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री बनाएको विषयबाट प्रचण्ड सशंकित थिए तथा कांग्रेसका नेताहरुले सार्वजनिक कार्यक्रममा पनि सरकारको आलोचना गरेको विषयमा पनि प्रचण्ड रुष्ट थिए ।
पछिल्लो हप्ता प्रधानमन्त्री आफैले आफ्ना मन्त्रीका काममा सन्तुष्ट नरहेको बताएका थिए । विशेष गरी अर्थमन्त्रालयले आफ्नो सोचाइ अनुसार काम नगरेको भन्ने कुराहरू पनि आएका थिए । कांग्रेस माओवादीकै नेताहरुले अर्थमन्त्री प्रकाशशरण महतको कारणले गठबन्धन टुटेको पनि टिप्पणी गरेका छन् ।
चुनाव अगाडि भएको गठबन्धनप्रति नेपाली कांग्रेस प्रतिबद्ध रहेको समेत कांग्रेसका नेताहरुको भनाई छ । १० पुस २०७९ मा गठबन्धन भत्किँदा पनि कांग्रेसकै जोडबलमा पुनः गठबन्धन जोडिएको थियो तर प्रधानमन्त्री अर्को बाटो हिँडने कोसिसमा रहेकोले कुनै पनि हालतमा सरकार टुटाएर नयाँ रूपबाट प्रधानमन्त्री आफै जान खोजेकाले यो आखिर हुने नै थियो भन्दै कांग्रेसका नेताहरुले प्रचण्डमाथि टिप्पणी गरेका छन् ।
प्रचण्ड आफैले मलाई प्रतिक्रियावादीले घेरा हालेर सिध्याउन खोजेको समेत आरोप लगाएका मात्र छैनन्, म रहुन्जेल देशमा तथा राजनीतिमा उथलपुथल रहने समेत जानकारी गराएका छन् । साथै, क्रान्तिकारी शक्तिहरु एक हुनुपर्ने उनको बुझाई छ ।
यता कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्ड धोकेबाज रहेछन् भन्ने आरोप समेत लगाएका छन् ।
आफ्नो सत्ता र शक्तिलाई बचाइराख्न प्रचण्डले जस्तोसुकै कार्य गर्ने र मुलुकलाई अस्थिरता तर्फ धकेल्ने प्रमुख पात्र प्रचण्ड रहेको समेत आलोचना विज्ञहरुले गरेका छन् ।
यसैगरी रवि लामिछानेले शक्तिका लागि जस्तोसुकै आलोचना खेप्न तयार रहेको चरित्र देखाएका छन् । अघिल्लो पटक सरकारबाट बाहिरिँदा अब हामी ८४ सम्म कसैसँग नमिल्ने तथा रास्वपा बाहेक सबै मिलेर सरकार बनाउनुस्, हामी प्रतिपक्षमै रहन्छौं भन्ने रवि अहिले सत्तामोहमा लिप्त देखिएका छन् ।
राष्ट्रपति कार्यालयमा केहीबेरमा ३ जना नयाँ मन्त्रीहरूले शपथ लिँदैछन् । पहिलो चरणमा माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट संसदीय दलका प्रमुख सचेतक समेत रहेका पदम गिरी र रास्वपाका उपाध्यक्ष समेत रहेका डोलप्रसाद अर्याल मन्त्रीका रूपमा सरकारमा जाने भएका हुन् ।
उता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने मौन अवस्थामा छन् । सबैभन्दा अन्योलमा प्रचण्डले माधवकुमार नेपाललाई पारेको जनचासो रहेको छ ।