लोकप्रिय रियालिटी शो एक्टिङ स्टारमा सृजना सुवेदी र विबेक पंगेनीको वास्तविक जीवनमा आधारित भावनात्मक अभिनय प्रस्तुत गरिएको छ । सृजना सुवेदीका श्रीमान् विवेक पंगेनीलाई ब्रेन क्यान्सर भएपछि उनले गरेको त्याग, माया र समर्पणलाई एक्टिङ स्टारकि प्रतिस्पर्धी नबिना रानाभाटले सशक्त अभिनयमार्फत जीवन्त बनाइन्। नबिनालाई दिपेश खत्री र अनुप भण्डारीले साथ दिएका थिए ।

सृजनाले विवेकको उपचारको दौरान र अन्तिम बिदाइको क्षणसम्म जुन समर्पण देखाइन्, त्यसले देश तथा विदेशका लाखौँलाई भावुक बनाएको थियो। नबिनाले स्टेजमा सृजनाको दुख, पीडा र भित्रको शक्ति यति मार्मिक ढंगले प्रस्तुत गरिन् कि स्टुडियोको माहोल नै शान्त र भावुक बन्यो। अभिनयको अन्तिम दृश्यमा विवेकलाई अन्तिम बिदाइ दिँदै सृजनाले भोगेको दर्दको क्षणलाई नबिनाले यस्तो गहिरो भावनात्मक शैलीमा प्रस्तुत गरिन्, जसले केहि समय छायांकन समेत रोक्नु परेको थियो ।

शोका टिमले यस प्रस्तुति अघि सृजना सुवेदीसँग प्रतिस्पर्धी नविनाको प्रत्यक्ष भेट गराई, सम्पूर्ण घटनाक्रमबारे जानकारी लिएर नै अभिनय तयार गरिएको थियो। सृजनाले आफ्नो जीवनको यो पीडादायक तर प्रेरणादायी कथालाई सार्वजनिक रूपमा प्रस्तुत गर्न अनुमति दिएकी थिइन्। एक्टिङ स्टारले यस्ता वास्तविक कथाहरूलाई मञ्चमा ल्याउँदै गर्दा नेपाली टेलिभिजनमा नयाँ धारको सुरुआत भइरहेको देखिन्छ।

आयोजक महक मिडिया नेटवर्कका अनुसार रियालिटी शो ‘एक्टिङ स्टार’मा नेपालका हिमाली, पहाडी र तराई क्षेत्रका साथै भारतका सिक्किम, दार्जिलिङ, पश्चिम बंगाल, मुम्बईबाट हजारभन्दा बढी प्रतियोगीले अडिसनमा भाग लिएका थिए । उत्कृष्ट प्रदर्शनका आधारमा छनोट हुँदै हाल १३ प्रतिस्पर्धी फाइनल चरणमा प्रवेश गरेका छन्। शो एपिवान एचडी टेलिभिजन र ओएसआर रियालिटीमा हरेक हप्ताको बुधबार र बिहिबार रातको ९ बजे प्रशारण भईरहेको छ ।

नेपालबाट भोट गर्नको लागि ओएसआर कनेक्ट एप डाउलोड गरेर एक्टिङ्ग स्टारमा क्लिक गरी आफ्नो मनपर्ने कलाकारलाई भोट गर्न सकिन्छ भने नेपाल बाहिरबाट भोट गर्नको लागि सिनेमाघर एप डाउनलोड गरेर एक्टिङ्ग स्टारमा क्लिक गरी आफ्नो मनपर्ने कलाकारलाई भोट गर्न सकिन्छ ।

‘एक्टिङ्ग स्टार’को विजेताले २० लाख धनराशी र चलचित्रमा अवसर पाउनेछ भने फस्ट र सेकेन्ड रनरअपले क्रमशः १० लाख र ५ लाख प्राप्त गर्नेछन् । पहिलो एक्टिङ्ग स्टार को हुनेछ भन्ने निर्णय अब दर्शकको हातमा रहेको आयोजक महक मिडिया नेटवर्कले जानकारी दिएको छ ।
भिडियो
