काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधिको मूल्य समायोजन गर्न जरुरी रहेको बताउनुभएको छ ।नेपाल औषधि व्यवसायी संघको १९ औं वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले औषधिको मूलय समायोजन नहुँदा गलत गर्नेलाई फाइदा र सही गर्नेलाई अफ्ठ्यारो भइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘औषधिको मूल्य समायोजन गर्न जरुरी छ । त्यो समायोजन नभएको कारणले, पारदर्शी नभएकाले गलत गर्नेलाई फाइदा र सही गर्नेलाई अफ्ठ्यारो भइरहेको छ । धेरै मानिसहरु ठगिएको, धेरै नै महंगो भएको कुरा आएको छ । कतिपय औषधिले उत्पादनमूल्य अनुसार बिक्री मूल्य प्राप्त नगरेको स्थिति पनि छ । त्यसमा राज्यले कम्पेन्सेट गर्न जरुरी छ । उपभोक्तालाई मारमा पार्ने भन्दा राज्यले कम्पेन्सेट गर्नेकुरा बढी उपयुक्त हो । राज्यले स्वास्थ्य सेवा राज्यको दायित्व हो भन्नकुरा स्थापित गर्न खोजेको हो भने औषधिमा र स्वास्थ्य संस्थाहरुमा उपकरण र जनशक्तिको सन्दर्भमा लगानी गर्न जरुरी छ ।’
मन्त्री पौडेलले बीमाको श्रोत सुनिश्चित गर्नुपर्ने बताउनु भयो । उहाँले राज्यले चिनीजन्य, मदिराजन्य पदार्थमा लिएको करको अधिकतम हिस्सा बीमामा ल्याएर जोड्नुपर्ने बताउनु भयो ।
