काठमाडौं । २७ औँ फ्लोरा एक्स्पो २०८२ सम्पन्न भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा चैत्र ५ गतेदेखि सुरु भएको उक्त एक्स्पो आइतबार समापन गरिएको हो । चार दिनसम्म सञ्चालन भएको उक्त एक्स्पोमा करिब ६० हजार दर्शकले अवलोकन गरेका छन् भने करिब १ करोड ५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ ।
फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार एक्स्पोको मुख्य उद्देश्य पुष्प व्यवसायको प्रवद्र्धन गर्नु, व्यवसायीहरूले भोगिरहेका समस्याहरू पहिचान गर्नु तथा ती समस्याहरूलाई नीतिगत रूपमा समाधानका लागि सरकारसमक्ष सुझाव प्रस्तुत गर्नु रहेको छ । यस वर्ष एक्स्पोमा ‘प्लान्ट क्लिनिक’, रैथाने (स्थानीय) बिरुवाहरूको प्रदर्शनी तथा विभिन्न संघ–संस्थासँग सहकार्यजस्ता नयाँ कार्यक्रमहरू समावेश गरिएको उनले बताए ।
उनले भने, ‘हाम्रो उद्देश्य भनेको पुष्प प्रबर्धन गर्ने र समष्टिगत रुपमा हाम्रो व्यवसायहरूको समस्या के छ त्यो नीतिगत रुपमा पहल गर्नलाई सरकारलाई हामीले सुझाव दिने । यसमा नयाँ तपाईंको हामीले प्लान्ट क्लिनिक भन्ने राखेका थियौं यो वर्ष । लगभग करिब ६० हजारको हाराहारीले यो एक्स्पो अवलोकन गरेका छन् । बिहीबार अन्तिम दिनमा एकदमै उत्साहित रुपमा अवलोकन गर्नेहरु बढेका थिए । कारोबार लगभग हामीले सोचेको भन्दा पनि बढी भएको छ । करिब एक करोड ५ लाख भन्दा माथि नै भएको छ भन्ने अनुमान छ ।’

अध्यक्ष श्रेष्ठले एक्स्पोप्रति दर्शक र व्यवसायीबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताए । उनले एक्स्पोमा प्रदर्शित बिरुवाहरूको गुणस्तर राम्रो रहेको, नयाँ–नयाँ प्रजातिहरू समावेश गरिएको तथा स्वदेशमै उत्पादन भएका बिरुवाहरूको हिस्सा उल्लेखनीय रूपमा बढी रहेको बताए । उनले सरकारी निकायबाट प्राप्त सहयोगप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा अझै नीतिगत सुधार आवश्यक रहेको औंल्याए । पुष्प क्षेत्रलाई अन्य कृषि क्षेत्रसरह प्राथमिकतामा राख्नुपर्ने माग पनि उनले गरे ।
उनले भने, ‘व्यवसायहरुले भोगेका समस्याहरुलाई नीतिगत रुपमा यसलाई चाहिँ सुल्झाउनुपर्छ भन्ने हामीले सुझाव दिन्छौ सरकारलाई । जुन चुनौतीहरु छन् आगामी दिनमा सरकारले हाम्रो समस्याहरु उहाँहरुले सुनिदिएर सहयोग हुने खालको नीतिहरु ल्याउनु हुन्छ भन्ने हामी चाहिँ विश्वास छ । पुष्प क्षेत्रलाई अरु कृषि वस्तुहरु सरह यसलाई चाहिँ प्राथमिकतामा चाहिँ राख्दिनुपर्छ भन्ने हाम्रो चाहिँ डिमान्ड छ ।’

त्यस्तै, फ्यानका वरिष्ठ उपाध्यक्ष तथा मेलाका संयोजक रामबहादुर तामाङ (सुनिल) ले यसपटकको एक्स्पो अघिल्ला संस्करणहरूको तुलनामा अझ सफल भएको बताए । उनका अनुसार २६ औँ फ्लोरा एक्स्पोपछिको अवधिमा विदेशी विशेषज्ञमार्फत तालिम सञ्चालन गरिएपछि स्वदेशमै उत्पादन हुने बिरुवाहरूको गुणस्तरमा सुधार आएको हो । विशेषगरी इलाममा उत्पादन गरिएका एजेलिया, डबल एजेलिया, क्यामेलिया लगायतका बिरुवाहरू यसपटकको एक्स्पोमा आकर्षणको केन्द्र बनेको बताए ।
यसपटक मेला व्यवस्थापनमा समेत सुधार गरिएको, स्वास्थ्य सहायता तथा सेवाहरूको व्यवस्था गरिएको र दर्शकहरूलाई सहज वातावरण प्रदान गरिएको उनले बताए ।
तामाङका अनुसार अहिले सिजनल फूलभन्दा पनि वर्षभरि हरियाली रहने ‘पेरेनियल’ तथा ‘इन्डोर’ बिरुवाहरूको माग उल्लेखनीय रूपमा बढेको छ । पिस लिली, एन्थुरियम, अर्किड, एजेलिया लगायतका बिरुवाहरू विशेष रूपमा बिक्री भएका छन् । उनले आगामी दिनमा टिस्यु कल्चर प्रविधिबाट बिरुवा उत्पादन गरी आयात घटाउँदै आत्मनिर्भर बन्ने लक्ष्य रहेको बताए । यसका लागि सरकारसँग सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

एक्स्पो अवलोकन गर्न पुगेकी अनु राईले यस्तो मेला आफूजस्ता अपाङ्गता भएका व्यक्तिहरूका लागि अत्यन्त उपयोगी रहेको बताइन् । उनले विभिन्न नर्सरीहरूमा सहज पहुँच नहुँदा आफूले चाहेको बिरुवा किन्न कठिन हुने गरेको उल्लेख गर्दै एक्स्पोमा भने एकै स्थानमा विभिन्न प्रजातिका बिरुवाहरू हेर्न र किन्न पाउनु सहज भएको अनुभव सुनाइन् ।
उनले भनिन्, ‘म यो फ्लोरा एक्स्पोमा चाहिँ प्रत्येक वर्ष आउँछु । किनभने हामी अपाङ्गता भएको महिलाहरूलाई चाहिँ एभ्री नर्सरीमा जानको लागि एक्सेबल छैन । अनि यहाँ चाहिँ हामीले चाहेको फूलहरू हेर्न पाउँछौं, लिन पाउँछौँ । गमलाहरु आफूले सोचेको जस्तो अर्डर गर्न पाउँछौं । अनि हामीले नर्सरीको लागि जाँदा खेरि एक्सेबल नभएकै कारण हामीले आफूले चाहे अनुरुपको फूलहरु लिन पाउदैनौं ।’
साथै, एक्स्पो स्थल अपाङ्गमैत्री रहेको, सहयोगी वातावरण रहेको र कर्मचारीहरू सहयोगी भएको भन्दै उनले प्रशंसा गरिन् ।
उनले अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई पनि यस्ता कार्यक्रममा सहभागी गराएर खुशी दिन परिवार तथा समाजलाई आग्रह गरिन् ।
आयोजकका अनुसार पछिल्लो समय घर, क्याफे, रेस्टुरेन्ट, पार्टी प्यालेस तथा सार्वजनिक स्थानहरूमा बिरुवा रोप्ने प्रवृत्ति बढ्दै गएको छ । स्थानीय तहहरूले समेत घर निर्माण स्वीकृतिमा बिरुवा रोप्ने सर्त राख्न थालेपछि पुष्प व्यवसायको विस्तारमा थप टेवा पुगेको छ ।
फ्यानका अनुसार हाल पुष्प क्षेत्रले करिब ५२ हजारभन्दा बढीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ । यस क्षेत्रलाई थप विस्तार गर्न नीतिगत सुधार, सामग्री आपूर्तिमा सहजता तथा सरकारी सहयोग आवश्यक रहेको व्यवसायीहरूको माग छ । उनीहरूले पुष्प क्षेत्रलाई कृषि क्षेत्रसरह प्राथमिकतामा राख्नुपर्ने र दीर्घकालीन रूपमा आत्मनिर्भर बन्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
