काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्यमा ठूलो वृद्धि गरेको छ। निगमको केन्द्रीय कार्यालय, बबरमहलले एक प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि र आपूर्तिमा देखिएको असहजताका कारण मूल्य समायोजन गर्नुपरेको जनाएको छ।
विज्ञप्ति अनुसार मध्यपूर्व र पश्चिम एसियामा देखिएको युद्धको प्रभावले गर्दा पेट्रोलियम पदार्थको आयातमा कठिनाइ भइरहेको छ। आफ्नै तेल खानी नभएका मुलुकहरूमा यसको प्रत्यक्ष असर परेको र विगतमा इन्डियन आयल कर्पोरेसन (IOC) लाई तिर्नुपर्ने अर्बौँ रुपैयाँ बक्यौताका कारण पनि निगम दबाबमा रहेको उल्लेख गरिएको छ।
नयाँ खुद्रा बिक्री मूल्य सूची (प्रति लिटर)
(मिति २०८२/१२/०२ देखि लागू हुने)
१. पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज):
• पेट्रोल: रु. १६९.५०
• डिजेल/मट्टितेल: रु. १४९.५०
२. दोस्रो वर्ग (सुर्खेत र दाङ):
• पेट्रोल: रु. १७१.००
• डिजेल/मट्टितेल: रु. १५१.००
३. तेस्रो वर्ग (काठमाडौँ, पोखरा र दिपायल):
• पेट्रोल: रु. १७२.००
• डिजेल/मट्टितेल: रु. १५२.००
मूल्य वृद्धिको कारण
विज्ञप्तिमा उल्लेख भए अनुसार, वि.सं. २०७९ सालमा रुस-युक्रेन युद्धका कारण आपूर्ति प्रणालीमा असर पर्दा निगमले इन्डियन आयल कर्पोरेसनलाई २४ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो। सरकारबाट ऋण लिएर र निगमको अचल सम्पत्ति धितो राखी केही रकम भुक्तानी गरिए पनि पुरानो दायित्वले निगमलाई अझै थिचिरहेको जनाइएको छ।
हालको असहज परिस्थितिमा पनि आपूर्तिलाई निरन्तरता दिएकोमा निगमले इन्डियन आयल कर्पोरेसनलाई धन्यवाद समेत दिएको छ। यो मूल्य वृद्धिसँगै सर्वसाधारणको भान्सा र यातायातको लागतमा प्रत्यक्ष असर पर्ने देखिएको छ।


