डिजिटल भुक्तानी एक वर्षमै ७० प्रतिशतले बढ्यो

सुनिता सुवेदी

काठमाडौं, १४ माघ । नेपालमा पछिल्लो समय मोबाइल र इन्टरनेट प्रयोगकर्ता बढेसँगै डिजिटल प्रणाली मार्फत गरिने भुक्तानी पनि बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष (आव) २०८०÷८१ को मंसिर महिनामा डिजिटल प्रणाली मार्फत ४५ खर्ब ४० अर्ब ३७ करोड १ लाख रुपैयाँको भुक्तानी भएको छ, जुन गत आवको मंसिरको तुलनामा ७० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा डिजिटल माध्यमबाट १३ खर्ब ४९ अर्ब ६९ करोड ७ लाख रुपैयाँ मात्र भुक्तानी भएको थियो ।

यस्तै मंसिर महिनामा मात्रै सबैभन्दा धेरै रियल टायम ग्रस सेटलमेन्ट (आर.टि.जि.एस) मार्फत भुक्तानी भएको छ । राष्ट्र बैंकको अनुसार आर.टि.जि.एस मार्फत गत मंसिरमा अघिल्लो मंसिरको तुलनामा ६ दशमलव ४२ प्रतिशतले वृद्धि भई २५ खर्ब ९३ अर्ब १५ करोड २ लाख भुक्तानी भएको छ । गत आवको सोही अवधिमा आर.टि.जि.एस मार्फत २४ खर्ब ३६ अर्ब ५४ करोड १ लाख रुपैयाँको भुक्तनी भएको थियो ।

आर.टि.जि.एसपछि धेरै भुक्तानी हुने मध्ये दोस्रोमा रहेको इलेक्ट्रोनिक चेक क्लियरिंग (इ.सी.सी) मार्फत ४ खर्ब ५८ करोड ८ करोड १ लाख रुपैयाँको भुक्तानी भएको छ । यो रकम गत आवको मंसिरको तुलनामा ४ दशमलव २० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा इ.सी.सी मार्फत ४ खर्ब ३९ अर्ब ५९ करोड ४ लाख रुपैयाँको भुक्तानी भएको थियो ।

यस्तै गत आवको मंसिरमा कनेक्टआइपिएस मार्फत २ खर्ब ९८ अर्ब २८ करोड ६ लाख रुपैयाँको भुक्तानी हुँदा यो वर्षको मंसिर महिनामा ४ खर्ब ३२ अर्ब ७ करोड २ लाख रुपैयाँको भुक्तनी भएको छ, जुन गत आवको मंसिरको तुलनामा ४४ प्रतिशतले बढी हो ।

चालु आवको मंसिर महिनामा मोबाइल बैंकिङ मार्फत २ खर्ब ६३ अर्ब ४६ करोड ४ लाख रुपैयाँको भुक्तानी भएको छ । त्यस्तै अन्तरबैंक भुक्तानी प्रणाली (आइपिएस) बाट १ खर्ब ७० अर्ब ८४ करोड ८ लाख, क्युआरबाट ३८ अर्ब ६ करोड र पिओएस मार्फत ५ अर्ब ७ करोड ४ लाख रुपैयाँको भुक्तानी भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट