फ्रान्ससँग भिड्नुअघि यामालको चेतावनी : ‘डराउने पालो उनीहरूको हो’

काठमाडौं । स्पेनका युवा फरवार्ड लामिन यामालले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा फ्रान्ससँग खेल्न आफ्नो टोली कुनै दबाबमा नरहेको बताएका छन् । उनले स्पेनले युरो कपमा फ्रान्सलाई पराजित गरिसकेको स्मरण गर्दै यसपटक पनि प्रतिस्पर्धा गर्न आफूहरू तयार रहेको बताए ।

फ्रान्सविरुद्धको सेमिफाइनल खेलअघि टिभी इस्पानासँग कुरा गर्दै यामालले दुई ठूला टोलीबीचको भिडन्त हुने भए पनि स्पेनमा कुनै डर नरहेको बताएका हुन् । ‘यदि कसैले डराउनुपर्छ भने त्यो उनीहरू (फ्रान्स) हुन् । हामीले युरोमा उनीहरूलाई हराएका थियौँ । हामी दुवै उत्कृष्ट टोली हौँ, विश्वका उत्कृष्ट टोलीमध्ये पर्छौँ । अब के हुन्छ हेर्न बाँकी छ, तर हामीलाई कुनै डर छैन,’ यामालले भने ।

बेल्जियमलाई पराजित गर्दै सेमिफाइनल पुगेपछि स्पेनी टोली निकै उत्साहित रहेको उनले बताए । उनले लगातार दोस्रो ठूलो प्रतियोगितामा सेमिफाइनल पुगेको स्पेन अब फाइनलसम्म पुग्ने लक्ष्यमा रहेको उल्लेख गरे ।

‘फेरि सेमिफाइनलमा पुग्दा हामी निकै खुसी छौँ । अब हाम्रो लक्ष्य फाइनलसम्म पुग्नु हो,’ उनले भने । बेल्जियमविरुद्धको खेलमा स्पेनले राम्रो प्रदर्शन गरेको दाबी गर्दै यामालले टोली हाबी भए पनि बेल्जियमले अवसरको सदुपयोग गरेको बताए । ‘हामी धेरै राम्रो टोली थियौँ । तर हामी उत्कृष्ट खेलिरहेका बेलापनि बेल्जियमले गोल गर्न सफल भयो,’ उनले भने ।

यामालले स्पेनविरुद्ध धेरै टोलीले रक्षात्मक रणनीति अपनाउने भएकाले खेल कठिन हुने पनि बताए । ‘कुनै पनि टोली हामीविरुद्ध खुलेर खेल्न आउँदैनन, सबै पछाडि बसेर डिफेन्ड गर्छन् । यसले खेल कठिन बनाउँछ, तर अन्ततः हामीले जित निकाल्न सफल भयौँ,’ उनले भने ।

बेल्जियमविरुद्धको क्वार्टरफाइनलमा स्पेनका लागि फाबियान रुइज र वैकल्पिक खेलाडी मिकेल मेरिनोले गोल गरेका थिए । बेल्जियमका चाल्र्स डि केटेलेरेले एक गोल फर्काए पनि स्पेन २–१ ले विजयी भएको थियो ।

खेलमा गोलरक्षक थिबो कोर्टोइस चोटका कारण मैदान छाड्न बाध्य भएका थिए । स्पेनका रुइजले डानी ओल्मोको प्रहार कोर्टोइसले रोक्न नसकेपछि आएको बलमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

बेल्जियमले पहिलो हाफको अन्त्यतिर बराबरी गोल फर्काएको थियो । केभिन डी ब्रुयनाको पासमा टिमोथी कास्टान्येको क्रसलाई डि केटेलेरेले हेडमार्फत गोलमा परिणत गरेका थिए । उक्त गोलसँगै स्पेनका गोलरक्षक उनाइ सिमोनको विश्वकपमा लगातार गोल नखाएको कीर्तिमान यात्रा ५६० मिनेटमा रोकिएको थियो । उनले सन् १९९० को विश्वकपमा इटालीका वाल्टर जेङ्गाले बनाएको ५१७ मिनेटको कीर्तिमान तोडेका थिए ।

खेलको ७१औँ मिनेटमा कोर्टोइस घाइते भएपछि बेल्जियम थप समस्यामा परेको थियो । उनको स्थानमा आएका सेन लामेन्सले पाउ क्युबार्सीको लामो दूरीको प्रहार नियन्त्रण गर्न नसक्दा मेरिनोले रिबाउन्डमा गोल गर्दै स्पेनलाई जित दिलाएका थिए । यो जितसँगै स्पेनको अपराजित यात्रा ३६ खेल पुगेको छ ।

कोलम्बियासँग पराजित भएपछि स्पेनले लगातार ३६ खेलमा हार बेहोरेको छैन । यो अर्जेन्टिनाले सन् २०१९ देखि २०२२ सम्म कायम गरेको ३६ खेलको अपराजित यात्रासँग बराबरी हो । अब स्पेन विश्व कीर्तिमान बनाएको इटालीको ३७ खेलको अपराजित यात्राभन्दा एक खेल मात्र टाढा छ । अब विश्वकपको सेमिफाइनलमा स्पेनले उपाधि दाबेदार फ्रान्सको सामना गर्नेछ । यो खेललाई प्रतियोगिताकै सबैभन्दा प्रतीक्षित भिडन्तका रूपमा हेरिएको छ । एएनआई

सम्बन्धित समाचार

ताजा पोष्ट