काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले विगत केही दिनदेखि सामाजिक सञ्जाल तथा केही अनलाइन मिडियामा बैंकका विरुद्ध सम्प्रेषण भइरहेका सामग्रीहरू भ्रामक र कपोलकल्पित रहेको भन्दै त्यसको गम्भीर खण्डन गरेको छ। बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त प्रचारबाजीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
बैंकका अनुसार, बैंकको मनिग्राम शाखा कार्यालयबाट कर्जा उपभोग गर्ने विभिन्न ऋणीहरूको नाम लिई दिलिप सिंह ओली लगायतका व्यक्तिहरूले बैंक व्यवस्थापन तथा विभिन्न तहमा कार्यरत कर्मचारीहरू विरुद्ध अनावश्यक आक्षेप लगाउने र भ्रम सिर्जना गर्ने कार्य गरिरहेका छन्।
बैंकले स्पष्ट पार्दै भनेको छ, “उक्त प्रचारबाजीमा संलग्न दिलिप सिंह ओली नाम गरेका व्यक्ति यस सिद्धार्थ बैंकको निक्षेपकर्ता (बचतकर्ता) वा कर्जा ग्राहक कुनै पनि नरहेको जानकारी गराउँदछौँ।”
कर्जा असुली प्रक्रियालाई विषयान्तर गर्ने प्रयास
बैंकले आफ्ना सम्पूर्ण कर्जा प्रवाह तथा असुली प्रक्रियाहरू नियमसम्मत रूपमा नै हुँदै आएको दाबी गरेको छ। सम्बन्धित ऋणीहरूको नाममा कर्जा स्वीकृत गर्दा प्रचलित नियम र बैंकिङ प्रक्रिया नै अवलम्बन गरिएको बैंकको भनाइ छ।
विज्ञप्तिमा भनिएको छ, “ऋणीहरूमध्ये कतिपयको कर्जा अनियमित भएपछि बैंकले नियमानुसार कर्जा असुलीको प्रक्रिया अगाडि बढाएको हो। तर, कर्जा असुली प्रक्रियालाई विषयान्तर गर्ने र रोक्ने कुत्सित उद्देश्यका साथ बैंक व्यवस्थापन तथा कर्मचारीहरूको नाम र तस्बिर प्रयोग गरी मानमर्दन गर्ने कार्य भइरहेको छ।”
बैंकले यस्ता अनाधिकृत रूपमा प्रचार गरिएका भिडियो तथा सामग्रीहरूमा कुनै सत्यता नभएको प्रष्ट पार्दै त्यस्ता भ्रामक सूचनाको विश्वास नगर्न सम्पूर्ण सरोकारवालाहरूलाई अनुरोध गरेको छ।
असन्तुष्टि भए कानुनी मार्ग रोज्न आग्रह
सिद्धार्थ बैंकले आफ्ना सेवा वा कर्जाका सम्बन्धमा कुनै गुनासो वा कैफियत भएमा बैंकको आन्तरिक गुनासो सुनुवाइ संयन्त्रमा सम्पर्क गर्न सकिने जनाएको छ। त्यहाँबाट चित्त नबुझे नेपाल राष्ट्र बैंकको गुनासो सुनुवाइ एकाइ वा प्रचलित कानुनी व्यवस्था बमोजिम उपचार खोज्न सकिने बाटो खुला रहेको बैंकले स्मरण गराएको छ।
नियमसम्मत कानुनी प्रक्रियालाई बेवास्ता गरी बैंकको प्रतिष्ठामा आँच पुऱ्याउने किसिमका गतिविधि नगर्न सचेत गराउँदै बैंकले आगामी दिनमा बिना आधार कुनै पनि विषय सम्प्रेषण गर्नुपूर्व सत्य–तथ्य बुझेर र बैंकको आधिकारिक धारणा लिएर मात्र भिडियो वा समाचार प्रकाशन/प्रसारण गर्न मिडिया तथा सर्वसाधारणमा अनुरोध गरेको छ।

