‘मदनकृष्ण’ बायोपिक नेपाली चलचित्र उद्योगको अर्को माइलस्टोन बन्नेछ : दिनेश डिसी

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बन्न लागेको नेपाली बायोपिक चलचित्र ‘मदनकृष्ण’ को औपचारिक घोषणा गरिएको छ । चलचित्रको घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नेपाली कला क्षेत्रका अत्यन्त सम्मानित व्यक्तित्व भएको उल्लेख गरे । उनले बायोपिक निर्माण आफैंमा चुनौतीपूर्ण कार्य भएको भन्दै कलाकार तथा मेकअप टिमले पनि ठूलो मेहनत गर्नुपर्ने बताए ।

‘नेपाली कला जगतले जहिले पनि उठेर सम्मान गर्ने र शिर झुकाएर नमन गर्ने व्यक्तित्वहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य हुनुहुन्छ । बायोपिक बनाउनु आफैंमा चुनौतीपूर्ण काम हो । कलाकारहरूलाई जत्तिकै मेकअप गर्ने साथीहरूलाई पनि कठिन हुनेछ,’ उनले भने ।

निर्देशक मिलन चाम्सको नेतृत्वमा बन्ने उक्त चलचित्र नेपाली चलचित्र उद्योगका लागि अर्को माइलस्टोन सावित हुने विश्वाससमेत उनले व्यक्त गरे ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफूलाई केन्द्रमा राखेर बायोपिक निर्माण गर्न लागिएकोमा खुसी व्यक्त गर्दै निर्माण टिमप्रति आभार प्रकट गरे । उनले आफ्नो सफलतामा हरिवंश आचार्यको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

‘हरिवंश आचार्य नहुनुहुन्थ्यो भने सायद मैले यति धेरै काम गर्न सक्ने थिइनँ। उहाँको सहयोगले नै जीवनका धेरै यात्राहरू सहज बने । यो मेरो मात्र बायोपिक होइन, हरिवंशजीसँग पनि कुरा भएपछि मैले यसलाई स्वीकार गरेको हुँ,’ उनले भने । कार्यक्रममा आफूलाई दिइएको सम्मानले भावुक बनाएको समेत उनले बताए ।

त्यसैगरी वरिष्ठ कलाकार हरिवंश आचार्यले मदनकृष्णको बायोपिक निर्माण हुनु आफ्नो लागि पनि गर्वको विषय भएको बताए । उनले निर्देशक मिलन चाम्सलाई नेपाली चलचित्र क्षेत्रका साहसी र ऊर्जाशील निर्देशकको रूपमा चित्रित गर्दै चलचित्रले न्यायपूर्ण ढंगले कथा प्रस्तुत गर्ने विश्वास व्यक्त गरे ।

‘चलचित्रका मुख्य क्याप्टेन निर्देशक नै हुन्। मिलन चाम्स नेपाली चलचित्र क्षेत्रमा असाध्यै आँटिला र जागरिला निर्देशक हुनुहुन्छ। उहाँले यो गम्भीर र महत्वपूर्ण कथालाई न्याय दिन सक्नुहुन्छ भन्ने मलाई विश्वास छ,’ उनले भने ।

आचार्यले मदनकृष्ण श्रेष्ठको परिवारलाई समेत बधाई दिँदै चलचित्र नेपाली चलचित्र क्षेत्रमा सार्थक र स्मरणीय कृतिका रूपमा स्थापित हुने अपेक्षा व्यक्त गरे ।

सम्बन्धित समाचार

ताजा पोष्ट