२५ ? अब त बिहे गर

हाम्रो समाज एउटा यस्तो पुराना घडीहरूको कारखाना जस्तै हो, जहाँ हरेक युवालाई एउटै ब्याट्री हालेर एउटै गतिमा कुदाउन खोजिन्छ। तिनै पुराना घडीहरूमध्येकी एउटी ‘आन्टी’ ले भर्खरै बाटोमा रोकेर मेरो जिन्दगीको टाइम-टेबल चेक गर्दै भन्नुभयो:

“२५ कटेछौ, अब त बिहे गर। ढिलो भयो भने त पछि सन्तान हुन पनि गाह्रो हुन्छ नि!” आफ्नो ऊर्जाशील उमेर, भविष्यका रंगीन योजना र करियरको उडानलाई एउटै साँघुरो पिँजडामा खुम्च्याएर सुन्दा कतिपय अवस्थामा हामी केवल एउटा फिक्का हाँसो हाँसेर अघि बढ्छौँ। तर घर फर्कँदै गर्दा मनमा एउटा गम्भीर प्रश्न उब्जिन्छ । हाम्रो समाजले युवाहरूलाई कहिल्यै “पहिले आफ्नो खुट्टामा उभिऊ, सफलताको शिखरमा पुग अनि मात्र मन लागेको बेला बिहे गर” भनेर किन हौसला दिँदैन? यहाँ सफलता र जीवनको सार्थकतालाई केवल एउटा निश्चित उमेरभित्र विवाह बन्धनमा बाँधिनु र जैविक घडी  सँग मात्र जोडेर हेर्ने परम्परागत सोच अझै हाबी छ।

वास्तवमा २५ वर्षको उमेर भनेको जीवनको अन्त्य वा विवाहको लागि हतारिने अन्तिम म्याद होइन, बल्कि यो त आफ्ना सपनाहरूलाई पखेटा हाल्ने र व्यावसायिक रूपमा अब्बल बन्ने स्वर्णिम समय हो। बदलिँदो आधुनिक नेपालमा युवाहरू विवाह र सन्तानको सामाजिक दबाबभन्दा माथि उठेर आर्थिक स्वतन्त्रता, मानसिक परिपक्वता र व्यक्तिगत पहिचानलाई प्राथमिकता दिन चाहन्छन्। सामाजिक डर वा कसैको चित्त बुझाउनकै लागि हतारमा गरिने निर्णयभन्दा, आफैँमा पूर्ण र सफल भइसकेपछि सोचविचार गरेर चालिने कदमले नै जीवनलाई दिगो र खुसी बनाउँछ। त्यसैले आन्टीहरूको त्यो ‘उमेरको चेतावनी’ लाई एउटा मिठो मुस्कानले टार्दै, आफ्नो साम्राज्य खडा गर्ने यात्रामा निरन्तर अघि बढ्नु नै आजका युवाहरूको वास्तविक जित हो।

हुन त आन्टीहरूको पनि के दोष र? उहाँहरूलाई तपाईँको भविष्यको भन्दा पनि,  पुलाउ र मासुभात खान पाइने एउटा दरो ‘भोज’ को तलतल लागेको मात्र हुन सक्छ। त्यसैले अर्को पटक कुनै आन्टीले बिहेको कुरा निकाल्नुभयो भने सिधै भन्दिनुस्  “बिहे त थाहा छैन आन्टी, बरु भोज खाने नै मन भए भन्नुस्, भोलि नै होटल गएर टन्न मासुभात खाऔँ, पैसा म तिरिदिन्छु ।

सम्बन्धित समाचार

ताजा पोष्ट