गृहमन्त्रीको रफ्तार: ‘हतार गरे भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ’

काठमाडौं । राजनीतिमा एउटा उखान छ—’सिंहदरबार छिर्न सजिलो छ, टिकिरहन गाह्रो ।’ तर गृहमन्त्री सुधन गुरुङका लागि यो उखान अलि फरक देखिएको छ । उनी सिंहदरबार छिरेनन् मात्रै, छिर्ने बित्तिकै यस्तो रफ्तार समाते कि जसले नेपालको राजनीतिक जगतमा ठूलै पराकम्प ल्याइदिएको छ ।

तर, के यो रफ्तार सुरक्षित छ ? ट्राफिक नियमले भन्छ— ‘हतार गरे भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ ।’ के गृह प्रशासनको यो जटिल बाटोमा सुधन गुरुङले गियर बदल्न ढिला गरिरहेका त छैनन् ?

सादा जीवन, प्रष्ट विचार तर चुनौतीको पहाड । चोक–चौतारीदेखि सिंहदरबारको शक्तिशाली कुर्सीसम्म आइपुगेका एक नेता— सुधन गुरुङ । देशको आन्तरिक सुरक्षा, सुशासन र नागरिकको भरोसा जोगाउने जिम्मेवारी अहिले उनको काँधमा छ । के उनी जनताको अपेक्षामा खरो उत्रिएलान् ? आजको विशेष रिपोर्टमा हामी गृहमन्त्री सुधन गुरुङको कार्यशैली र प्राथमिकताको चिरफार गर्दैछौं ।

सुधन गुरुङ, जो अहिले नेपालको गृह प्रशासन हाँक्दैछन् । उनको पहिचान एक सरल र भुइँमान्छ नेताको रूपमा छ । तर, गृह मन्त्रालय जस्तो संवेदनशील निकाय सम्हाल्नु उनका लागि केवल पद मात्र होइन, एउटा अग्निपरीक्षा पनि हो ।

प्रहरी प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने र सरुवा बढुवामा मेरिटोक्रेसी लागु गर्ने उनको उद्घोषले आशा जगाएको छ ।

विगतका चर्चित काण्डहरूको फाइल खोल्ने र दोषीलाई कानुनको कठघरामा ल्याउने सवालमा मन्त्री गुरुङ कडा देखिन्छन् ।

आम नागरिकले दैनिक भोग्नुपर्ने सास्ती कम गर्न उनले चालेका कदमहरू कत्तिको प्रभावकारी भए त ?

गृहमन्त्रीसँग इच्छाशक्ति देखिन्छ, तर कर्मचारीतन्त्र र राजनीतिक दबाबलाई चिर्न सक्नु नै उनको सफलताको कडी हुनेछ ।

सुधन गुरुङका सामु चुनौतीका चाङ छन् । गुण्डागर्दी नियन्त्रण, तस्करीको जालो तोड्नु र प्रहरीभित्रको मनोबल उच्च राख्नु उनको मुख्य कार्यभार हो । उनको सक्रियताले एउटा कुरा प्रष्ट पार्छ— उनी काम गर्नु आएका हुन् ।

१. मन्त्री नियुक्त भएको २४ घण्टाभित्रै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई जेनजी आन्दोलन दमन गरेको अभियोगमा पक्राउ गर्न दिएको निर्देशन ।

२. उनले सार्वजनिक रूपमै भीभीआईपी मोटरकेड (सवारी) को विरोध गर्दै आफैं गाडी चलाउने र क्यान्टिनमा खाजा खाने गरेका दृश्यहरू ।

३. गृह प्रशासनको बागडोर सम्हाले लगत्तै सुदन गुरुङले एउटा स्पष्ट सन्देश दिए— राजनीतिक आडमा हुने गुण्डागर्दीको दिन सकिए । दशकौंदेखि ठेक्कापट्टा, असुली र सहरको अन्डरवल्र्डमा राज गर्नेहरूका लागि सुधनको आगमन एउटा ठूलो चुनौती बनेको छ ।

सुधन गुरुङले हालै एक अन्तर्वार्तामा भनेका थिए— ”मलाई कसैको फोन आउनु पर्दैन, यदि कसैले मन्त्रीको नाम बेचेर कतै पैसा मागेको छ भने त्यसलाई झ्यालखानामा कोच्नुस् ।”

गृहमन्त्रीको कुर्सीमा बस्ने बित्तिकै सुधनले त्यो काम गरे, जुन वर्षौंदेखि नेपालमा ”ट्याबू” थियो । ठुला माछालाई जालमा पार्ने आँट । पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई नै कठघरामा उभ्याउने साहस ।

गृहमन्त्री सुधन गुरुङको राफ्तारले यो पटक ती पात्रलाई समातेको छ, जसलाई यसअघिका सरकारले छुन समेत डराउँथे । सम्पत्ति शुद्धीकरणको गम्भीर अभियोगमा समातिएका दिपक भट्टमाथि ४५ करोड रुपैयाँको शंकास्पद कारोबारदेखि अर्बौं असेट लेयरिङसम्मको अनुसन्धान भइरहेको छ । पक्राउ पर्नु केही दिनअघि मात्रै उनलाई देश बाहिर जान रोक लगाउँदै अध्यागमनले ब्ल्याकलिष्टमा राखेको थियो।

सुधन गुरुङले भनेका छन् – ”कसैको सिफारिस चल्दैन ।” तर, के भट्टले हिरासतबाटै आफ्नो पुरानो नेटवर्क प्रयोग गरेर उन्मुक्ति पाउलान् ? या यो पटक सिंहदरबारले साँच्चै बिस्तारै गए अवश्य पुगिन्छ भन्ने मन्त्र बिर्सेर एक्सनु मै अडिग रहला ? अथवा यो कुनै सस्तो लोकप्रियताका लागि गरिएको स्टन्ट मात्रै हो ? यदि होइन भने, ठमेलका डनदेखि सिंहदरबारका सेतो लुगा लगाउने अपराधीसम्मको सेटिङ भत्काउन सुधनको यो सर्जिकल स्ट्राइक जारी रहनुपर्छ ।

सुधन गुरुङलाई एउटा कुरा थाहा छ— यो देशमा गुण्डागर्दी गर्नेको मात्र होइन, गुण्डा पाल्नेको पनि दिन अब सकिनुपर्छ । हिजो हामी नेपाल भन्दै हिँड्ने त्यो ठिटोले आज पूरै नेपाललाई एउटा कुरा बुझाउन खोज्दैछ— ”कानुन सबैका लागि बराबर हुन्छ ।”

तर, इतिहास साक्षी छ— नेपालको गृह प्रशासनको कुर्सीमा बस्नेहरू सुरुमा सेलिब्रेटी बन्छन् र अन्तमा सिस्टमको सिकार । सुधनका अगाडि अबको मुख्य चुनौती भनेकै आफ्नै दलभित्रको दबाब, कर्मचारीतन्त्रको असहयोग र पुराना सेटिङहरूलाई स्थायी रूपमा भत्काउनु हो ।

आशा गरौं, सुधन गुरुङको यो एक्सन ट्रेलर मात्र नभई, देशमा विधिको शासन स्थापना गर्ने एउटा पूर्ण चलचित्र बन्नेछ ।

सम्बन्धित समाचार

ताजा पोष्ट