नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका छन् । पूर्वगृहमन्त्री तथा पार्टीका प्रभावशाली नेता रमेश लेखक पक्राउ परेपछि उत्पन्न परिस्थितिको सामना गर्न खड्काले यो कदम चालेका हुन् ।
पार्टीका निवर्तमान कार्यवाहक सभापति खड्का निकट स्रोतका अनुसार, यो बैठक चैत १७ गते मंगलबार र १८ गते बुधबार गरी दुई दिनसम्म काठमाडौँको धुम्बाराहीस्थित एक होटलमा बस्नेछ । बैठकमा मुख्यगरी नेता रमेश लेखक र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको पक्राउ प्रकरण, यसका संवैधानिक तथा कानुनी पक्ष र पार्टीको आगामी रणनीतिका बारेमा गम्भीर छलफल हुने बताइएको छ ।
समातान्तर गतिविधिका रूपमा हेरिँदै
पार्टीभित्र विशेष महाधिवेशनपछि नेतृत्वको विषयमा विवाद कायम रहेकै बेला खड्काले “कार्यवाहक सभापति” को हैसियतमा वक्तव्य जारी गर्दै यो बैठक बोलाएका हुन् । यसअघि उनले १४ चैतमा विशेष महाधिवेशनलाई स्वीकार नगरेका शीर्ष नेताहरूसँग ठमेलमा छुट्टै छलफल गरेका थिए । सोही छलफलको निरन्तरताका रूपमा यस बैठकलाई हेरिएको छ ।
आगामी योजना र रणनीति
खड्काले केन्द्रीय कार्यसमितिको बैठक लगत्तै सातै प्रदेशका सभापति र जिल्ला सभापतिहरूको समेत भेला बोलाउने तयारी गरेका छन् । उनले जारी गरेको पछिल्लो वक्तव्यमा सरकारको कदमलाई “राजनीतिक प्रतिशोध” को संज्ञा दिँदै यसको संवैधानिक र राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने उल्लेख गरेका छन् । साथै, उनले पार्टीका नेता–कार्यकर्ताहरूलाई जुनसुकै परिस्थितिको सामना गर्न तयार रहन समेत अपिल गरेका छन् ।
नेपाली कांग्रेसको संस्थापन पक्ष (गगन थापा नेतृत्व) ले भने खड्काको यो सक्रियता र “कार्यवाहक सभापति” का रूपमा जारी गरिएको वक्तव्यप्रति असन्तुष्टि जनाउँदै आएको छ । यसले पार्टीभित्रको आन्तरिक कलह थप सतहमा आउने संकेत देखिएको छ ।
