काठमाडौं । भारतको हिमान्चल प्रदेशको कोतखाई भन्ने स्थानबाट उद्धार गरिएकी रुकुम पश्चिमकी २१ वर्षीया युवती गाउँ पुग्दा बाजागाजासहित स्वागत गरिएको छ ।
घरपरिवारको सम्पर्कमा समेत रहन नदिई बन्धक बनाएर घरेलु काममा लगााएकी एक नेपाली युवतीको भारतमा उद्धार गरिएको थियो । उद्धारपछि उनलाई आफ्नै गाउँ पुर्याइएको थियो । सो क्रममा धुमधाम खुशीयाली मनाउँदै स्वागत गरिएको हो ।
उक्त स्वागतले बन्धक बनाइएका वा बेचिएका युवतीहरुप्रति नेपाली समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको अनुभुत गराएको छ ।
पीडितको आफन्तले दिल्लीस्थित नेपाली दूतावासको हटलाइनमा फोन सम्पर्क गरेर उद्धारको आग्रह गरेको थियो । दूतावासले भारतमा सक्रिय सामाजिक संस्था किन इन्डिया तथा हिमान्चल प्रहरीसँगको समन्वय गरेर पीडितको उद्धार गरेको थियो ।
किन इन्डियाका प्रमुख नविन जोशीले चार वर्ष अगाडि स्याउ बगानमा काम थालेकी किशोरीलाई बगानधनीले पछि घरमा काम लगाएको बताए । घरमा काममा लगाएपछि पारिश्रमिक नदिने र घरपरिवारलाई समेत सम्पर्क गर्न नदिएर राखेको जोशीको भनाइ छ ।
किशोरी ११ कक्षा पढ्दै गर्दा हिमान्चल प्रदेश पुगेकी थिइन् । स्थानीय प्रहरी तथा स्थानीय बाल कल्याण समितिको सहयोग लिएर पीडितको उद्धार गरिएको जोशीले जानकारी दिए । घटनाविरुद्ध प्रहरीमा उजुरी दिएर पीडकलाई कारबाहीको दायरामा ल्याइने उनले बताए ।
उनको स्वास्थ्य उपचार तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने क्रममा रुकुम पुगेका किन इन्डियाका निदेशक नविन जोशी लगायतको टिमलाई हर्सोलासका साथ गाउँलेले स्वागत गरेका थिए ।
बारम्बारको प्रयासको बाबजुद पनि उद्धार गर्न नसकेर पीडामा बसेका परिवारलाई आफ्नो छोरी सकुशल आफ्नो घरमा नै ल्याइदिएपछि परिवार मात्र होइन सम्पूर्ण गाउँलेहरुले नै खुशीयाली मनाएका थिए । उद्धारको अगुवाइ गरेका जोशीले भने,‘बेचिएका, बन्धक बनाइएका वा वलात्कारमा परेर पीडा व्यहोरिरहेका चेलीहरुप्रति समाजले हेर्ने दृष्टिकोणमा फरक पाउँदा अत्यन्तै खुशी लागेको छ । नेपाली समाज विस्तारै परिवर्तन हुँदै गएकोप्रति हर्ष लागेको छ ।’
