काठमाडौँ। नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरू पद तथा गोपनीयताको शपथ ग्रहणका लागि सिंहदरबारस्थित नवनिर्मित संसद् भवन परिसरमा भेला हुन थालेका छन्। निर्वाचन सम्पन्न भएर निर्वाचन आयोगले अन्तिम परिणाम बुझाएसँगै जनप्रतिनिधिहरू पहिलोपटक औपचारिक रूपमा संसद् प्रवेश गर्न लागेका हुन्।
मौलिक पहिरनमा सजिएका जनप्रतिनिधि
सिंहदरबार परिसर आज निकै चहलपहलपूर्ण देखिएको छ। देशका विभिन्न कुनाबाट चुनिएर आएका सांसदहरू आ-आफ्नो सांस्कृतिक र भौगोलिक पहिचान झल्किने पोशाकमा उपस्थित भएका छन्।
-
तराईका सांसदहरू धोती-कुर्तामा देखिएका छन् भने पहाडी र हिमाली क्षेत्रका प्रतिनिधिहरू दौरा-सुरुवाल, बख्खु र अन्य मौलिक भेषभूषामा सजिएका छन्।
-
नवनिर्वाचित सांसदहरू एकअर्कासँग परिचय गर्ने, बधाई साटासाट गर्ने र तस्बिर खिचाउन व्यस्त देखिन्छन्। धेरैजसो सांसदहरूका लागि सिंहदरबारको यो नयाँ र अत्याधुनिक भवन पहिलो अनुभव समेत बनेको छ।
शपथको तयारी पुरा
सङ्घीय संसद् सचिवालयका अनुसार शपथ ग्रहणका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भइसकेको छ। ज्येष्ठ सदस्यले शपथ गराउनुअघि सांसदहरूको परिचयपत्र रुजु गर्ने र उनीहरूलाई प्रक्रियाबारे जानकारी दिने काम भइरहेको छ।
शपथ ग्रहणपछि मात्र सांसदहरूले औपचारिक रूपमा सदनको कामकारबाहीमा भाग लिन पाउने कानुनी प्रावधान छ। सचिवालयले शपथका लागि विभिन्न मातृभाषामा नाम दर्ता गराएका सांसदहरूको सूची पनि तयार पारेको छ।

