देशको अवस्थाप्रति खबरदारी गर्दै नयाँ सोच र खोज अभियान राजधानीमा

काठमाडौं । परिवर्तनका लागि गठन गरिएको नयाँ सोच र खोज अभियान ले बुधबार राजधानीमा खबरदारी सभा आयोजना गरेको छ । सभामा बोल्ने वक्ताहरूले पुरानो सोच, नीति र नेतृत्वकै कारण देश अपेक्षित विकासको मार्गमा अघि बढ्न नसकेको निष्कर्ष निकाल्दै अब केवल निर्वाचन होइन, नयाँ सोच र नयाँ विकल्पको आवश्यकता रहेको बताएका छन् ।

अभियानका प्रतिनिधिहरूका अनुसार २०४७ सालपछि भएका हरेक निर्वाचनले सत्ता परिवर्तन त गर्‍यो, तर शासन प्रणाली, सोच र नियतमा परिवर्तन नआउँदा जनजीवनमा वास्तविक रूपान्तरण हुन सकेन । राजनीतिक परिवर्तन देखिए पनि आर्थिक समृद्धि, विकास र रोजगारी सिर्जना नहुँदा नेपाली युवा विदेशिन बाध्य भएको उनीहरूको भनाइ छ ।

खबरदारी सभामा वक्ताहरूले अभियानको उद्देश्य सत्ता कब्जा गर्नु नभई सत्तालाई जनमुखी बनाउनु रहेको स्पष्ट पारे । उनीहरूले आगामी निर्वाचनमा सहभागी दलहरूले पाँच वर्षे स्पष्ट कार्ययोजनासहित जनतासँग प्रतिबद्धता गर्नुपर्ने र कार्यकाल पूरा भएपछि उक्त योजनाको प्रगति विवरण सार्वजनिक रूपमा प्रस्तुत गर्नुपर्ने धारणा राखे ।

अभियानले कृषि, पर्यटन, जलविद्युत् र सूचना प्रविधि नेपालको आर्थिक विकासका प्रमुख आधार भए पनि हरेक निर्वाचनपछि यी क्षेत्र उपेक्षित हुँदै आएको जनाएको छ । स्वदेशमै रोजगारी सिर्जना, राजनीतिक नातावाद र विचौलियाको अन्त्य, स्वदेशमै विश्वविद्यालय स्थापना तथा लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने माग अभियानले अघि सारेको छ ।

सभामा प्रस्तुत अवधारणाअनुसार सत्ता फेरिँदै आए पनि प्रणाली नबद्लिँदा न त विकास आयो, न त अपेक्षित परिवर्तन भयो । यस्तो अवस्था अब स्वीकार्य नहुने उल्लेख गर्दै अभियानले स्वदेशमै पुँजीअनुसारको लगानी, वैदेशिक रोजगारीको विकल्प खोज्ने नीति, कृषिमा उत्पादन वृद्धि, पर्यटन विस्तार, कर प्रणाली सुधार, गाउँ–सहर जोड्ने द्रुतगतिको राजमार्ग निर्माण, प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच शय्याको स्वास्थ्य चौकी स्थापना, व्यवहारिक शिक्षाको सुरुवात तथा ६७ वर्षमाथिका नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न माग गरेको छ ।

अभियानले पुराना सोच, नीति र अनुहारले देश परिवर्तन गर्न नसकेको, विकास नारामै सीमित भएको तथा भ्रष्टाचार, दण्डहीनता र बेथितिका कारण राज्यप्रतिको भरोसा कमजोर बन्दै गएको निष्कर्ष समेत निकालेको छ । युवाशक्ति विदेशिन बाध्य हुँदा देश सम्भावनाविहीन बन्दै गएको भन्दै यसको विरोधमा जनचेतना फैलाउने, शासनप्रति खबरदारी गर्ने र नयाँ विकल्पको खोज गर्ने उद्देश्य अभियानको रहेको जनाएको छ ।

सुशासन र जवाफदेहिताका लागि भ्रष्टाचार र शक्ति दुरुपयोगविरुद्ध स्पष्ट आवाज उठाउने, युवाहरू, बुद्धिजीवी र आमनागरिकलाई परिवर्तनको प्रक्रियामा सक्रिय बनाउने तथा अहिंसात्मक र लोकतान्त्रिक माध्यमबाट सुधारको माग अघि बढाउने प्रतिबद्धता पनि अभियानले व्यक्त गरेको छ ।

सम्बन्धित समाचार

ताजा पोष्ट