सुनिता सुवदी
काठमाडौं, १६ माघ । खानी तथा भूगर्भ विभागले गत आर्थिक वर्ष २०७९–८० को अन्त्य (असारमसान्त) सम्ममा देशभित्र खानी उत्खननका लागि १ सय ५९ कम्पनीलाई अनुमति दिएकोे छ । उत्खननका लागि अनुमति पाएकामध्ये ९७ वटा कम्पनी सञ्चालनमा छन् । महत्वपूर्ण क्षेत्रका रूपमा लिएको खनिज पदार्थमध्ये सबैभन्दा धेरै चुनढुंगा खानीलाई उत्खननका लागि अनुमति प्रदान गरिएको छ । विभागका अनुसार गत आवको अन्त्यसम्ममा ९३ वटा चुनढुंगा खानीलाई अनुमति दिएको छ । यस्तै उत्खननका लागि अनुमति पाउने प्रमुख दोस्रोमा क्वार्टजाइट छ । गत आवको असार मसान्तसम्ममा १३ वटा क्वार्टजाइटले अनुमति पाएको छ ।
अन्य अनुमति प्रदान गरिएकोमा टल्क ११, कोइला १०, टुर्मालिन ५, ग्रेनाइट १, फलाम १, क्यानाइट ५, लिड ३, म्याग्नेसाइट २, मार्बल १, क्वार्टज २, रातो माटो २, बालुवा ३ र जस्ता १ लगायतका खानी छन् । खानी उत्खनन गर्न अनुमति पाउने कम्पनीमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा छन् । विभागले बागमती प्रदेशमा ५९ खानीलाई उत्खननका लागि अनुमति दिएको बताइएको छ । प्रदेशमा ३७ वटा खानी सञ्चालनमा छन् । यस्तै विभागले लुम्बिनी प्रदेशमा ५४, कर्णालीमा १६, गण्डकीमा १२, सुदुरपश्चिममा १० र कोशी प्रदेशमा ८ वटा खानीलाई अनुमति दिएको छ ।
कति छन् खोजतलासका लागि अनुमति पाउने खनिज तथा कम्पनी ?
यसैगरी खानी तथा भूगर्भ विभागले गत आर्थिक वर्षको अन्त्यसम्ममा देशभित्र खानी खोजतलासका लागि ४ सय २२ कम्पनीलाई अनुमति पत्र दिइएको बताएको छ । विभागका अनुसार खोजतलासका लागि अनुमति पाएका २५ खनिज छन् । यी खनिजमध्ये सबैभन्दा धेरै चुनढुंगा खानी खोजतलास गर्न अनुमति दिएको छ । आर्थिक वर्ष २०७९÷८० मा २ सय २ वटा चुनढुंगा खानी खोजतलास गर्न अनुमति दिइएको हो । गत आवको अन्त्यसम्ममा १३ वटा क्वार्टजाइट खानी खोजतलासका लागि अनुमति दिइएको छ ।
खोजतलासका लागि अनुमति पाउने अन्य खनिजतर्फ ग्रेनाइट ३१, सिलिका बालुवा १०, कोइला १३, रातो माटो १४, फलामका २५ ओटा खानी रहेका छन् । त्यस्तै एल्युमिनियम १, क्याल्साइट १, तामा १९, ग्रेनाइट ३१, इमिरल्ड १, गार्नेट १, सुन ३, औद्योगिक माटो २, काओलिन ७, क्यानाइट ५, म्याग्नेसाइट १, पोलिमेटल ३, क्वार्ट्ज ४, रुबी २, टल्क ७, टुर्मालिन ५ र जस्ताका एउटा खानी खोजतलासका लागि अनुमति दिइएको विभागले बताएको छ ।