काठमाडौं, ११ माघ । गत आर्थिक वर्षको तुलनामा वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या घटेको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष (आव) २०८०–८१ को पुस महिना सम्ममा ३ लाख ४३ हजार ४ सय ५ जनाले श्रम स्वीकृति लिएका छन् । यो सङ्ख्या गत आवकोे पुसको तुलनामा १७ दशमलव १६ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा ४ लाख १४ हजार ५ सय ४६ जनाले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका थिए ।
चालु आवको अर्धवार्षिक अवधिसम्ममा ३ लाख ३ हजार ८ सय ३३ पुरुषले श्रम स्वीकृति लिएका छन् । जुन गत आवको पुसको तुलनामा १९ दशमलव ४४ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा ३ लाख ७७ हजार १ सय ५५ पुरुषले वैदेशिक रोजगारिका लागि श्रम स्वीकृति लिएका थिए ।
गत आवको पुसको तुलनामा वैदेशिक रोजगारमा जाने महिलाको सङ्ख्या भने ५ दशमलव ५१ प्रतिशतले बढेको छ । चालु आवको पुस महिनासम्ममा ३९ हजार ५ सय ७२ महिलाले श्रम स्वीकृति लिएका थिए भने गत आवको सोही अवधिमा ३७ हजार ३ सय ९१ महिलाले श्रम स्वीकृती लिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।